नेपालका तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गरिने भएको छ । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि त्रिपक्षीय समझदारी भएको छ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको उपस्थितिमा तीनै विश्वविद्यालयका उपकुलपतिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
त्यस अवसरमा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा डा विनोद लेखकले समझदारीले विश्वविद्यालयबिचको सहकार्यलाई नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । तीन विश्वविद्यालयबीच शैक्षिक स्रोत, अनुसन्धान, प्रविधि र अनुभव आदानप्रदानलाई संस्थागत गर्ने लक्ष्य राखेको छ । विशेषगरी डिजिटल प्लेटफर्ममार्फत संयुक्त कक्षा सञ्चालन, अनुसन्धान सहकार्य र प्राध्यापकहरूको साझा उपयोगजस्ता कार्यक्रम अघि बढाइने छ । यो सहकार्यले उच्च शिक्षामा गुणस्तरवृद्धि, स्रोतको प्रभावकारी उपयोग तथा आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणालीको विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ ।
