काठमाडौं महानगरपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी टेकुस्थित बायोग्यास प्लान्ट परीक्षण सुरु गरेको हो। ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले प्लान्ट परीक्षणको सुरुवात गरेका छन्।
यसअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई बायोग्यास प्लान्ट सञ्चालनको लागि हस्तान्तरण गरेका थिए। ढकालले ऊर्जा मन्त्रालयको निर्देशन र काठमाडौं महानगरपालिकासँगको सहकार्यमा प्लान्टको प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी पुनः सञ्चालनमा ल्याउन लागिएको बताए।
दश वर्षअघि निर्माण गरिएको प्लान्ट सञ्चालनमा आएको केही समयपछि बन्द भएको थियो। पुरानो प्लान्टको डिजाइन विद्युत उत्पादन गर्ने उद्देश्यले गरिएको भए पनि हालको प्राविधिक अध्ययनले उत्पादित बायोग्यासलाई सिधै उपभोक्तासम्म पुर्याउनु उपयुक्त देखाएको ढकालको भनाइ छ।
पाइपलाइनमार्फत आसपासका घरपरिवारलाई ग्यास वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए। ढकालका अनुसार प्लान्टको दीर्घकालीन सञ्चालन सुनिश्चित गर्न सार्वजनिक(निजी साझेदारी ९पीपीपी० मोडेल अपनाउने विषयमा पनि छलफल भइरहेको छ। निजी क्षेत्रलाई सञ्चालन व्यवस्थापनमा सहभागी गराएर महानगरपालिकाको स्वामित्वमा प्लान्ट सञ्चालन गर्ने अवधारणालाई अघि बढाइएको उनले बताए।
विश्व बैंककी अपरेसन म्यानेजर रिता ढकालले पुनःस्थापित प्लान्टबाट दैनिक तीन टन छुट्याइएको जैविक फोहोर प्रशोधन गरी करिब १५० घनमिटर बायोग्यास उत्पादन गर्ने लक्ष्य रहेको बताइन्। उत्पादित ग्यास आसपासका करिब सय घरपरिवारलाई वितरण गरिने उनले जानकारी दिइन्।
फोहोर व्यवस्थापन क्षेत्रबाट विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको करिब ३ देखि ५ प्रतिशत हिस्सा आउने उल्लेख गर्दै उनले जैविक फोहोरको उचित व्यवस्थापनले जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याउने उल्लेख गरिन्।
विशेषगरी ल्यान्डफिल तथा डम्पिङ साइटमा जैविक फोहोर कुहिँदा निस्कने मिथेन र खुला रूपमा फोहोर जलाउँदा उत्सर्जन हुने ब्ल्याक कार्बन न्युनिकरणमा यस्ता परियोजना उपयोगी हुने उनको भनाइ छ। प्लान्टको दिगो सञ्चालनका लागि घरघरबाटै जैविक र अजैविक फोहोर छुट्याउने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।
विश्व बैंकको सहयोगमा सञ्चालित मिनी ग्रिड इनर्जी एक्सेस परियोजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौं महानगरपालिकाले प्लान्टको पुनःस्थापना गरिएको हो। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार विश्व बैंकको सहयोगमा यसअघि विभिन्न सात स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक(निजी साझेदारी अवधारणाअन्तर्गत ठूला बायोग्यास प्लान्ट निर्माण भएका छन्।
त्यस्तै, निजी क्षेत्रको सहभागितामा २० वटाभन्दा बढी व्यावसायिक प्लान्ट स्थापना भएका छन्।
