‘इलामको नालीबेली’ सार्वजनिक

लेखक एवं अनुसन्धानकर्ता तथा मानवशात्री खेमराज नेपालको ‘इलामको नालीबेली’ अनुसन्धानात्मक कृति लोकार्पण गरिएको छ।
इलाम नगरपालिका र इलाम विकास समाजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् एवम् पूर्वराजदूत केदारभक्त माथेमा, कार्यक्रमका सभाध्यक्ष एवम् इलाम नगरपालिकाका मेयर केदार थापा, सांसद निश्कल राई, वरिष्ठ इतिहासविद प्राडा सुरेन्द्र केसी, पूर्व सचिव लिलामणि पोखरेल, लेखक एवं चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, लेखक एवं समाजसेवी शम्भु श्रेष्ठ लगायतका विशिष्ट व्यक्तित्वले कृतिको लोकार्पण गरेका हुन्।
कार्यक्रमको सुरुवातमा भोटेकोशी बाढीमा परी दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि सभाध्यक्ष थापा र प्रमुख अतिथि माथेमा तथा सांसद् निश्कल राईले गमलामा पानी हाली कार्यक्रमको उद्घाटन गरेका थिए।
इलाम विकास समाजका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले सहजीकरण गरेको कार्यक्रममा सभाध्यक्ष एवम् इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले उपस्थितजनलाई शब्दिक स्वागत गरेका थिए। सोही क्रममा उनले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए। उक्त कार्यक्रममा अनुसन्धानकर्ता नेपाललाई सम्मानपत्रसमेत अर्पिएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माथेमाले कृतिकार नेपाललाई बधाई ज्ञापन गर्दै नेपालको चियामध्ये इलामको चिया विश्वमै उत्कृष्ट रहेको बताए।
सेवानिवृत्त जीवनपछि पनि समाजलाई उत्प्रेरणा दिने खोजमूलक कार्यमा संलग्न भएकोमा लेखकलाई धन्यवाद दिँदै नगरप्रमुख थापाले ‘इलामको नालीबेली’ को अपनत्व ग्रहण गरी नगरपालिकाले प्रकाशनको जिम्मेवारी लिएको बताए। सोही क्रममा उनले इलाममा मेडिकल कलेजको आवश्यकता महसुस गरिएको समेत उल्लेख गरे।
कृतिकार नेपालले इलामको समग्र पक्ष समेटिएको यस्तो पुस्तक यसअघि प्रकाशन नभएको महसुस गरी आफूले ‘इलामको नालीबेली’ तयार पारेको बताए।
पुस्तकमाथि समीक्षात्मक मन्तव्य राख्दै प्राडा प्रेमसागर चापागाईले यो कृति इलामको एक दुर्लभ दस्तावेज भएको बताए। पुस्तकमा इलामको नामाकरण, इतिहास, लिम्बू जातिको विस्तृत चर्चा, जमिनको वर्गीकरण र भूउपयोगका साथै तत्कालीन समाज, संस्कृति, धर्म, सतीप्रथा, कमाराकमारी राख्ने व्यवस्था, छुवाछुतको भेदभाव र कामको बाँडफाँड जस्ता ऐतिहासिक प्रसङ्ग समेटिएको उनले बताए।
यसैगरी अर्का समीक्षक वरिष्ठ पत्रकार एवं लेखक धर्म गौतमले ग्रन्थको विविध समीक्षा गरेका थिए।
समारोहमा इतिहासविद् प्राडा सुरेन्द्र केसीले इलाममा क्याम्पस प्रमुख भएर काम गर्दाको अनुभव स्मरण गरे। मन्तव्यका क्रममा उनले ‘टिको लगाएर’ प्राध्यापक बन्ने प्रवृत्ति र विद्वानहरूले चलाएको प्रशासनमा समेत शिर निहुराउनुपर्ने वर्तमान अवस्थाप्रति तिखो व्यङ्ग्य प्रहार गरेका थिए।
कार्यक्रममा इलामका सांसद निश्कल राईले शुभकामना मन्तव्य राख्दै लेखकलाई बधाई ज्ञापन गरेका थिए।
स्रष्टा ध्रुवराज थापाको अनुसार कार्यक्रममा पूर्वसचिवहरु दिनेश थपलिया, भोजराज पोखरेल, दिनेश थपलिया, लिलामणि पोखरेल, डी बी भट्टराई, विमल वाग्ले, केदार ञौपाने, पूर्व राजदुत डा। मदनकुमार भट्टराई, साहित्यकारहरु डा। तुलसीप्रसास भट्टराई, धरणीप्रसाद गौतम, डा। शैलेन्दुप्रकाश नेपाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।
उक्त कार्यक्रममा इलामको वनस्पति तथा विविध सम्पदाका विषयमा समेत चर्चा गरिएको थियो। इलामको इतिहास, समाज, संस्कृति तथा आर्थिक जीवनका विविध पक्ष समेटेर इलामको नालीबेली ग्रन्थ तयार गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *