जनकपुर आइपुग्यो अयोध्याबाट रेल

अयोध्याबाट करिब १ हजार यात्रु बोकेर सरयू–कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको छ । जनकपुर रेल्वे स्टेसनमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले रेलबाट आएका यात्रुको स्वागत गरेका छन् ।
नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्रीले सोमबार हरियो झन्डा देखाएपछि उत्तर प्रदेशको अयोध्यास्थित क्यान्ट स्टेसनबाट जनकपुरका लागि रेल गुडेको थियो । भिडिओ कन्फरेन्समा रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ताली बजाउँदै सोमबार दिउँसो १ बजेर ४५ मिनेटमा बिदाइ गरेका थिए ।
भारत सरकारकै सहयोगमा सीमावर्ती सहर जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको भंगहासम्म ब्रोडगेज रेल्वे लाइन ओछ्याइएको छ । नेपालले आफै निर्माण गरिरहेको पूर्व–पश्चिम रेलमार्गसँग जोड्न त्यो ब्रोडगेजलाई बर्दिवाससम्म बिस्तार गरिँदै छ । ब्रोडगेजमा हाल नेपाल सरकारले आफ्नै दुईवटा आधुनिक रेल इञ्जिन दैनिक तीन पटक जयनगर–जनकपुर–भगहासम्म यात्रुवाहक सेवा सञ्चालन गरिरहेको छ । कात्तिकको दोस्रो साता अयोध्याबाट आएको रेललाई जनकपुरसम्म ल्याएर परिक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *