पूर्वउपप्रधानमन्त्री रायमाझी कैदमुक्त

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका रायमाझी ६५ वर्ष उमेर पुगेपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैदमुक्त भएका हुन् ।
रायमाझीले तीन वर्ष ६ महिना कैद भुक्तान गरिसकेका छन् । उनी २०८० वैशाख ३१ देखि डिल्लीबजार कारागारमा थुनामा थिए ।
६५ वर्ष उमेर पुगेपछि ज्येष्ठ नागरिकका रूपमा कैद छुटको सुविधा माग गर्दै रायमाझीले काठमाडौँ जिल्ला अदालतमा निवेदन दिएका थिए । उनी गत कात्तिक २६ गते ६५ वर्ष पुगेका हुन् । निवेदनसँगै उनले उमेर पुष्टि हुने कागजातसमेत पेस गरेका थिए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले गत कात्तिक १३ गते ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार कैद छुटको सुविधा प्रदान गर्ने निर्णय गरेको थियो ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐनको दफा १२ मा ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई उमेरअनुसार कैद सजायमा २५ प्रतिशतसम्म छुट दिन सकिने व्यवस्था छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले २०८३ असार २३ गते रायमाझीलाई दोषी ठहर गर्दै चार वर्ष कैद सजाय सुनाएको थियो । उनी ठगी, राज्यविरुद्धको कसुर र संगठित अपराधमा दोषी ठहर भएका थिए ।
अदालतले रायमाझीलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तोकेको थियो ।
एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानासमेत निर्धारण गरिएको थियो । कैद सजायमा छुट पाए पनि उनले अदालतले तोकेको जरिवाना भने तिर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *