जापानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक नियन्त्रण (एटीसी) सुविधा सुधारका लागि २ अर्ब ७६ करोड ७० लाख रुपैयाँ (२.८५३ बिलियन जापानी येन) बराबरको अनुदान दिने भएको छ । नेपालका लागि जापानका राजदूत तोरु माइदा र अर्थसचिव घनश्याम उपाध्यायले बुधबार काठमाडौंमा अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
परियोजनाअन्तर्गत विमानस्थलको विद्यमान हवाई ट्राफिक नियन्त्रण टावरको पुनःस्थापना तथा विद्युत् र ब्याकअप प्रणाली, ताप, भेन्टिलेसन तथा वातानुकूलन, अग्नि सुरक्षा र सुरक्षा प्रणालीलगायत महत्त्वपूर्ण पूर्वाधार तथा प्रणालीको स्तरोन्नति गरिनेछ । त्यस्तै, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आईकाओ० का मापदण्डअनुसार सञ्चार, नेभिगेसन तथा निगरानीरहवाई ट्राफिक व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण गरिने जापानी दूतावासले जनाएको छ ।
परियोजनाले नेपालको हवाई ट्राफिक नियन्त्रण प्रणाली सञ्चालन तथा मर्मतसम्भार क्षमता अभिवृद्धिका लागि तालिममा समेत सहयोग गर्नेछ । स्तरोन्नतिपछि हवाई सुरक्षा, ट्राफिक व्यवस्थापनको दक्षता र विमानस्थल सञ्चालनमा सुधार हुने तथा विपद् र चरम मौसमी घटनाविरुद्ध विमानस्थलको प्रतिरोधी क्षमता बढ्ने जापानी दूतावासले जनाएको छ ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष मनाइरहेका बेला यो अनुदान सम्झौता भएको हो ।
