बाढीमा मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख राहत

रसुवाको भोटेकोसी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले थप राहत तथा सेवा–सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीति निर्माण समितिको बैठकले प्रहरी नियमावलीबमोजिम प्राप्त हुने सेवा–सुविधाका अतिरिक्त दिवंगत प्रहरी कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकले दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋणसमेत मिनाहा गर्ने निर्णय गरेको छ। त्यस्तै, परिवारका इच्छुक एक सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीका लागि आवश्यक पहल गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ।
दिवंगत प्रहरी कर्मचारीका सन्ततिलाई नेपाल प्रहरी स्कुलमा शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णयसमेत गरिएको नेपाल प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *