म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनको तयारीमा रहेको जानकारी दिए ।
‘बाँध, डिसेन्डर, सुरुङ, स्विचयार्डको परीक्षण सफल भइसकेको छ,’ उनले भने, ‘२० मेगावाट क्षमताको एक वटा ‘युनिट’ को परीक्षण पनि सकिएको छ । अर्को २० मेगावाटको युनिटको पनि आइतबारदेखि परीक्षण थालिएको छ ।’
एक हप्तादेखि १० दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित तीव्र गतिकाब साथ काम भइरहेको प्रबन्धक केसीले जानकारी दिए ।
रघुगङ्गा–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुई पानी थिग्र्याउने पोखरीको परीक्षण भइसकेको छ ।
तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम सकेर जडान भएका उपकरणहरूको परीक्षण थालिएको हो । आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युतगृह परिसरमा निर्माण भएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको छ ।
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो ।
चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न हुन लागेको हो । कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए ।
भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२।३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो । भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आईभीआरसीएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । आईभीआरसीएलसँग २०६६ सालमा ठेक्का सम्झौता भएको थियो ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा पहिले र सरकारी लगानीमा सञ्चालन भएको राहुघाटलाई जलविद्युत् विकासको ‘गेटवे’ (प्रवेशविन्दु)ं मानिएको थियो ।
‘राहुघाट सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा आयोजना सम्पन्न भइसकेको छन्,’ उनले भने, ‘ढिलै भए पनि दुई दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना सम्पन्न भएको खबरले हामीलाई उत्साहित बनाएको छ ।’
राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।
You may also like
-
मधेश प्रदेश सरकारले प्रहरीलाई दियो सवारी साधन
-
नेपाल र भुटानपछि अब मौरिससलाई पनि भारतले इन्धन आपूर्ति गर्ने इन्डियन आयल र मौरिससबीच ५ वर्षे सम्झौता
-
अतिक्रमित जग्गामा बनेका संरचना हटाउन जनकपुरमा चल्यो डोजर
-
चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना
-
राष्ट्रिय परिचयपत्र सेवा अब शनिबार बाहेक सबै दिन दिइने
