रास्वपाको प्रथम महाधिवेशनको तयारी पूरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि भरतपुरमा सुरु हुँदैछ ।
असार ९ गतेसम्म चल्ने महाधिवेशनको तयारस् अन्तिम चरणमा पुगेको छ । महाधिवेशन सफल बनाउन रास्वपाले १८ वटा उपसमिति बनाएर काम गरिरहेका छ ।
महाधिवेशनको उद्घाटन सत्र चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा आयोजना हुने छ भने बन्दसत्र उद्योग संघ चितवनको सभाहलमा सञ्चालन गरिनेछ ।
उद्घाटनस्थलमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त विशाल डोम निर्माण गरिएको छ । तीन वटा डोम जोडेर एउटै सभाहल तयार बनाइएको हो ।
महाधिवेशनको उद्घाटन समारोहमा करिब ४० हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ भने करिब ३ हजार प्रतिनिधि सहभागी हुनेछन् ।
महाधिवेशनमा सहभागी प्रतिनिधिले आवास खर्च आफैँ व्यहोर्नुपर्ने भए पनि चितवनका होटलहरूले विशेष छुट दिने भएका छन् ।
महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ ।
पहिलो चरणको मतदान गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्यका लागि मतदान गरिने छ ।
केसीका अनुसार निर्वाचित भएका सदस्यहरूबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ।
असार ८ गते दिउँसो २ बजे मनोनयन प्रक्रिया सुरु गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको छ । असार ८ गते रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने तयारी छ । पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुने छ ।
प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था मिलाएको छ । विदेशका १७० जना प्रतिनिधिमध्ये आउन नसक्नेहरूले एपमार्फत मतदान गर्ने छन् ।
महाधिवेशनलाई लक्ष्य गरी चितवनको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ ।
महाधिवेशनलाई लक्ष्य गरी चारवटै सुरक्षा निकाय समन्वयात्मक रूपमा तयार भएको सुरक्षा योजना कार्यान्वयन गरिने छ । यस्तै महाधिवेशन अवधिभर कुनै पनि सुरक्षा चुनौती उत्पन्न हुन नदिन रणनीतिक सुरक्षा योजना तयार पारिएको छ ।
महाधिवेशनमा पार्टीले सबै मुख्य दलका नेताहरूलाई निमन्त्रणा दिएको छ । मुख्य दलका नेतृत्वमा रहेका व्यक्तिहरूलाई दिएको निमन्त्रणामा श्रम संस्कृति पार्टीका हर्क साम्पाङ उपस्थित नहुने घोषणा गरिसकेका छन् ।
महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित हुन्छन् हुँदैनन् भन्ने विषय अहिलेसम्म जानकारी गराइएको छैन । तर नेपाली कांग्रेसका सभापति गगन थापा भने महाधिवेशनमा उपस्थित हुने निश्चित भइसकेको छैन ।
महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड वा माधव नेपाल उपस्थित हुनसक्ने बताइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भने राजेन्द्र लिङ्देन नै उपस्थित हुने सूचना आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *