परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ रहेको बताएका छन् । उनले चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न चाहेको बताएका हुन् ।
मंगलबार बेइजिङमा ग्लोबल टाइम्ससँगको अन्तर्वार्तामा उनले नेपाल–चीन सहकार्यका लागि सम्पर्क सञ्जाल (कनेक्टिभिटी) र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता भएको उल्लेख गरे।
परराष्ट्रमन्त्री खनाल आइतबारदेखि बुधबारसम्म चीन भ्रमणमा छन्। उनको यो भ्रमण भारत भ्रमणलगत्तै भएकाले धेरैले यसलाई कूटनीतिक सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरेका छन्।
यसबारे सोधिएको प्रश्नमा मन्त्री खनालले चीन र भारत दुवैसँग सन्तुलित सम्बन्ध राख्नु नेपालको प्राथमिकता भएको बताउँदै दुवै छिमेकीलाई महत्वपूर्ण साझेदारका रूपमा वर्णन गरे।
‘मेरो भ्रमणले हामीले दुवै देशलाई कति महत्व दिन्छौं भन्ने सन्देश दिएको छ। हामी विद्यमान सम्बन्धलाई अझ बलियो, अझ राम्रो र विगतभन्दा अझ गहिरो बनाउन चाहन्छौं,’ उनले भने।
खनालले नेपालले चीन र भारत दुवैसँग हजारौं वर्षदेखि आदानप्रदान गर्दै आएको उल्लेख गर्दै यी दुई प्राचीन सभ्यतासँग नेपालको सम्बन्ध सभ्यतागत आधारमा स्थापित भएको बताए। यही कारण नेपालले दुवै देशसँग विशेष प्रकारको सम्बन्ध राखेको उनको भनाइ थियो।
पहाड र नदीले जोडिएका निकट छिमेकीका रूपमा चीन र नेपालबीच विभिन्न क्षेत्रमा सहकार्य भइरहेको उनले बताएका छन्। चिनियाँ सरकारले सामुदायिक विकास, स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, ग्रामीण विकास तथा द्विपक्षीय व्यापारका क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गर्दै आएको भन्दै उनले सहकार्यका सम्भावना अझ व्यापक रहेको बताए।
नेपालको वर्तमान प्राथमिकता विगतको तुलनामा तीव्र आर्थिक वृद्धि हासिल गर्नु रहेको उल्लेख गर्दै उनले चीनसँगको सहकार्य मुख्यतः कनेक्टिभिटी, पूर्वाधार विकास तथा विज्ञान र प्रविधिमा केन्द्रित हुने बताए।
सीमापार सम्पर्क विस्तार गर्दै भू(परिवेष्ठित अवस्थाका सीमितताबाट मुक्त हुने आकांक्षा नेपालले लामो समयदेखि राख्दै आएको छ।
अन्तर्वार्ताका क्रममा मन्त्री खनालले ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जालअन्तर्गत सीमापार रेलमार्ग, सडक तथा विद्युत् प्रसारण लाइनजस्ता ठूला पूर्वाधार परियोजनाहरू अघि बढाउनु आवश्यक रहेको बताए। यस्ता परियोजनाले नेपाललाई भूपरिवेष्ठित देशबाट भू(जोडित देशमा रूपान्तरण गर्न मद्दत गर्ने उनको विश्वास छ।
हालै नेपाल सरकारले चिलिमे–केरुङ सीमापार प्रसारण लाइन परियोजनालाई अघि बढाउन चीनलाई जवाफ पत्र पठाउने निर्णय गरेको छ।
यसबारे मन्त्री खनालले आगामी चरणमा चिनियाँ प्राविधिक टोलीले विस्तृत सम्भाव्यता अध्ययन गर्ने जानकारी दिए। अध्ययन सम्पन्न भएपछि मात्र मार्ग र निर्माण योजनाबारे दुवै पक्षबीच अन्तिम निर्णय हुनेछ।
