परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबिच वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री एलिसन हुकरबिच टेलिफोन वार्ता भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार वार्ताको क्रममा उपविदेशमन्त्री हुकरले मन्त्री खनाललाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै नेपाल सरकारसँग थप नजिक भएर काम गर्ने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गरिन् । जवाफमा परराष्ट्रमन्त्री खनालले अमेरिकी बधाई सन्देशप्रति आभार प्रकट गर्दै नेपालको समग्र सामाजिक(आर्थिक विकासमा अमेरिकाले पुर्‍याउँदै आएको निरन्तर सहयोगका लागि नेपाल सरकारको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेका थिए। संवादका क्रममा मन्त्री खनालले वर्तमान सरकारको मुख्य प्राथमिकताहरू साझा गरेका थिए। उनले विशेष गरी पूर्वाधार विकास, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा वैदेशिक लगानी भित्र्याएर सुशासन र आर्थिक वृद्धिलाई अघि बढाउने नेपालको लक्ष्य रहेको प्रस्ट पारे।


अमेरिकी उपविदेशमन्त्री हुकरले नेपाल सरकारले तय गरेका विकासका प्राथमिकताहरूको उच्च प्रशंसा गर्दै यस रूपान्तरणकारी प्रक्रियामा अमेरिकी सहयोग जारी रहने कुरा स्पष्ट पारिन्। वार्ताको सन्दर्भमा उनले नेपालसँगको पहिलो कुराकानी उत्कृष्ट रहेको भन्दै दुवै देशले व्यापार तथा लगानीमा कसरी सहकार्य बढाउन सक्छन् भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको बताइन्। साथै, उनले आगामी दिनमा पनि निरन्तर सम्पर्कमा रही आपसी साझेदारीलाई अझ बलियो बनाउन आफू उत्सुक रहेको धारणा राखेकी थिइन्। सो अवसरमा परराष्ट्रमन्त्री खनाल र उपविदेशमन्त्री हुकरले नेपाल र अमेरिकाबिच कायम रहेको आठ दशक लामो ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धको स्मरण गरेका थिए। उनीहरूले आपसी हितका क्षेत्रहरूमा दुईपक्षीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई अझ बढी सुदृढ र प्रभावकारी बनाउने साझा प्रतिबद्धता समेत पुनः व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *