नेपालमा ४८ प्रतिशत चिनियाँ र १७.९ प्रतिशत भारतीय लगानी

नेपालमा विदेशी लगानीको क्षेत्रमा चीन सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रका रूपमा देखिएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०८२ फागुनसम्म स्वीकृत कुल वैदेशिक लगानीमध्ये चीनको हिस्सा ४८ प्रतिशत पुगेको छ भने भारतको १७.९ प्रतिशत र अन्य मुलुकहरूको संयुक्त हिस्सा ३४।१ प्रतिशत रहेको छ। परियोजनाको संख्याका आधारमा पनि चीन अग्रस्थानमा रहेको छ। कुल स्वीकृत परियोजनामध्ये ४५.५ प्रतिशत चिनियाँ लगानीका रहेका छन् भने भारतको हिस्सा ११.९ प्रतिशत र अन्य मुलुकहरूको ४२.६ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

हाल विदेशी लगानी स्वचालित (अटोमेटिक) र अप्रुभल गरी दुई रुटमार्फत स्वीकृत हुने व्यवस्था रहेको छ। २०८२ फागुनसम्म उद्योग विभागमार्फत अटोमेटिक रुटबाट ९६८ तथा अप्रुभल रुटबाट ६ हजार ९८३ परियोजनासहित कुल ७ हजार ९५१ परियोजनामा ६ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ। स्वीकृत परियोजनाबाट करिब ३ लाख ६२ हजार ५४५ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को फागुनसम्म मात्र ५५४ परियोजनामा ४० अर्ब ७० करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ। यसमध्ये अटोमेटिक रुटबाट ३७७ तथा अप्रुभल रुटबाट १७७ परियोजना रहेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा भने ४२७ उद्योगमा ४४ अर्ब ६६ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको थियो। यसले परियोजनाको संख्या बढे पनि लगानी रकम केही घटेको देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *