राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीसँग सिजाङका उपाध्यक्ष पेङको भेटवार्ता

राष्ट्रिय सभाका उपाध्यक्ष विमलाकुमारी भण्डारी र जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, ऊर्जा तथा अन्तरसंसदीय सहकार्यलगायतका विषयमा छलफल भएको थियो ।
उपाध्यक्ष भण्डारीले नेपाल र चीनबीच शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, पुरानो मित्रता तथा पारस्परिक संवेदनशीलताको सम्मानमा आधारित उत्कृष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल ‘एक–चीन सिद्धान्त’ प्रति दृढ प्रतिबद्ध रहेको बताए । साथै उनले नेपालको भूमिबाट चीनको हितविपरीत कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धतासमेत दोहोर्‍याए ।
सिजाङसँगको सहकार्यबारे चर्चा गर्दै उनले व्यापार, पर्यटन, कृषि र ऊर्जा क्षेत्रमा भएको प्रगतिप्रति खुसी व्यक्त गरे । हाल सिजाङ र नेपालबीचको व्यापारले नेपाल–चीन कुल व्यापारको करिब एक तिहाइ हिस्सा ओगटेको जानकारी दिँदै उनले सन् २०२५ को पहिलो छ महिनामा २.१९ अर्ब युआन बराबरको व्यापार भएको र यो अघिल्लो वर्षको तुलनामा २२.१ प्रतिशतले वृद्धि भएको बताए ।
उनले नेपाल–सिजाङ आर्थिक तथा व्यापार सहजीकरण समितिको १३औँ बैठक गत जुन २०२५ मा ल्हासामा सफलतापूर्वक सम्पन्न भएको तथा १४औँ बैठक यसै वर्ष काठमाडौँमा आयोजना गर्ने तयारी रहेको जानकारीसमेत दिए ।
अन्तरसंसदीय सहकार्यका विषयमा उपाध्यक्ष भण्डारीले प्रतिनिधिसभा र चिनियाँ राष्ट्रिय जनकांग्रेसबीच सन् २०२२ मा भएको समझदारीपत्र महत्वपूर्ण कोसेढुङ्गा भएको बताउँदै आगामी दिनमा सङ्घीय संसदमा नेपाल–चीन संसदीय मैत्री समूह गठन गर्ने योजना रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *