मित्र परियारहरूको दुःख

मानिस जातमा ठूलो र सानो हुने कुनै पनि विज्ञानले पुष्टि गर्न सक्दैन। तर, हाम्रो देशमा युगौँदेखि बनेको जातीय विभेदको खाडल पुरिन सकेको छैन। जो श्रम गर्छ, जोसँग सीप छ; उही समुदाय दलित तथा उत्पीडित समुदायको पहिचान बोकेर बाँच्नुपरेको छ।

इतिहासको आँखाबाट हेर्दा कानुन वा संहिता बनाएरै राज्यले शिल्पी र श्रमिक समुदायको अपमान र शोषण गरेको छ। मनुस्मृतिमा उल्लेख भएअनुसार यी समुदाय गोडाबाट जन्मेका हुन्। युगौँदेखि यस्ता रूढिहरू रहेकाले नेपाली समाज समतामूलक बन्न सकेको छैन। समताशून्य समाज न्यायपूर्ण हुन सक्दैन। हाम्रो देश विकसित नहुनुको कारणमध्ये जातीय विभेद पनि एक हो। थिति बाँध्ने राजाको चाला

हाम्रो देशमा थिति बाँध्ने राजाको नाम लिनुपर्दा जयस्थिति मल्लको नाम अग्रपंक्तिमा आउँछ। उनले विभिन्न समुदायलाई उनीहरूको क्षेत्र र सीपअनुसार पेसा तोकिदिए। उनले बाँधेको थितिमध्ये विभेदलाई प्रश्रय गर्ने एउटा संहिता भन्छ, “…पोइ हुन्या ब्राह्मणीसँग छेत्री गयो भन्या खोलापार लैजाई चाण्डालका हातले एकैचोटमा मर्न्यागरी हानी मार्नू…पोइ हुन्या ब्राह्मणीसँग वैश्य गयो भन्या लिंग काटी दिनु सुन सिंही रुपैया १२० दंड … पोइ हुन्या ब्राह्मणीसँग शुद्र गयो भन्या लिंग काटी खुवाई चाण्डलको हातले कटाउनू…।”

मल्लले बाँधेको थिति पनि पुरोहितवादी मनुस्मृतिमै आधारित थियो, जसले समुदाय समुदायमा विभेदको खाडल खनेको थियो; जातको आधारमा कसैको हातको पानी चल्ने र कसैको नचल्ने बनायो।

नेपालमा लिखित कानुन बनाउने श्रेय जंगबहादुर राणालाई जान्छ। बेलायत भ्रमण गरेर फर्केपछि उनले मुलुकी ऐन बनाउने तत्परता देखाए। मुलुकी ऐन, १९१० मा वैधानिक रूपमा जातीय विभेद किटान गरिएको छ। आज जसलाई नेपालका आदिवासी जनजाति भनिन्छ, यिनीहरूबीच पनि मासिने र नमासिने भनेर खाडल खनियो; श्रमिक र शिल्पीहरूलाई त छानीछानी सानो-ठूलोको क्रम मिलाएर राखियो।

मुलुकी ऐन भन्छ, ‘उपल्ला जातदेषि पोढ्या तकको जुठो षानाले सबै जातभन्दा सानु च्याम्हा षलकको जात, अरुको जुठो षान्या च्याम्हा षलकका हातको नषान्या हुनाले च्याम्हा षलक भंदा ठूलो पोढ्याको जात…पोढ्याभन्दा ठूलो वादिको जात, वादि भंदा ठूलो गाइन्याको जात, गाइन्या भंदा ठूलो दमाईको जात, दमाइ भंदा ठूलो कडाराको जात, कडाराभन्दा ठूलो कामि सार्कीको ठूलो जात, कामि दमाइ सार्की भंदा ठूलो कुलुको जात।’ अन्यायको अत्यहीन शृंखला

राज्य र समाजले युगौँदेखि सीमान्तमा हुत्याइदिएर संरचनागत लाभांशबाट वञ्चित यो समुदायबाट कोही कोही बौद्धिक पनि निस्केका छन्। तीमध्येका हुन्, डा. मित्र परियार; जसको चर्चाले यतिखेर सामाजिक सञ्जाल भरिएको छ।

धरान उपमहानगरका मेयर हर्क साम्पाङको नेतृत्वमा नवस्थापित श्रम संस्कृति पार्टीको हालै सम्पन्न बुटवलको आमसभामा अलि कड्केर भाषण गरेका सो पार्टीका तत्कालीन उपाध्यक्ष परियार पार्टी कारबाहीमा परे। एकै सातामा आफ्ना दुई उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) र परियारलाई कारबाही गरेर यो पार्टीले गजबको कीर्तिमान कायम गरिसकेको छ।

तामाङ कानुनी दृष्टिकोणबाट अभियुक्त भई प्रहरीले पक्राउ गरेका कारण पार्टीको आन्तरिक कारबाहीमा पर्नुलाई स्वाभाविक रूपमा लिन सकिन्छ। तर, परियारलाई गरिएको कारबाही त्यति औचित्यपूर्ण लाग्दैन।

कारबाही प्रकरणसँग सम्बन्धित परियारको भाषणको क्लिप पनि सार्वजनिक भएको छ। क्लिप हेर्दा परियारमा भाषण गरिरहेको बेला आफूलाई राम्ररी सुनियोस् र ध्यान अन्यत्र नमोडियोस् भन्ने आग्रह देखिन्छ। आफू बोलिरहेको बेला दर्शकदीर्घामा केही व्यक्ति फोटो सेसन गरिरहेको देखेपछि चित्त दुखाएका उनी त्यसो नगर्न आग्रह गर्छन्। बुटवलमा आयोजति सभाका लागि आफूले पनि मेहनत गरेको स्मरण गराउँदै र आयोजकहरूको कमजोरी पनि रहेको उल्लेख गर्दै भाषणमा उनी भन्छन्, ‘अहिले राष्ट्रिय झन्डा जो ओढिएको छ, त्यो सिलाउने दमाईं हुन्। यो देश बनाउने दलित र जनजातिहरू हुन्।’ परियारले यति मात्र बोलेका हुन् भने उनको गल्ती ठूलो देखिन्न। किताबमा पढेका यस्तै दर्शनहरू लिएर ‘हर्कवाद’ नामको नयाँ दर्शनलाई सहयोग गर्न पुगेका परियार पार्टीबाट यति छिटै कारबाहीभागी होलान् भन्ने धेरैलाई लागेको थिएन। उनले भोगेको यस्तो कारबाहीलाई नयाँ भन्न मिल्दैन। यस्तो कारबाही वा दुःख मित्र परियारहरूले युगौँदेखि भोग्दै आएका छन्।

जुन रोग पुरानो हुन्छ, त्यसको उपचार पनि जटिल नै हुन्छ। युगौँदेखि नेपाली समाजमा गाडिएको छुवाछुतजन्य अन्धविश्वासलाई निमिट्यान्न पार्न अझै कति समय लाग्ने हो थाहापत्तो छैन।

हिजो राजा पृथ्वीनारायण शाहको युद्धमोर्चामा खटिने चाहे बिसे नगर्ची हुन् वा मनिराम गाइने; यो समुदायले गरेको योगदानको उचित मूल्यांकन हुनु त कता हो कता, अपमानको शृंखला जारी छ। समाजका कथित उपल्लो जाति अझै पनि यो समुदायसँग पानी र वैवाहिक सम्बन्ध चलाउन हिचकिचाउँछ। देशको माटोलाई आफ्नो सीप र पसिनाले छपक्क भिजाउने समुदाय यसरी पाखा पारिएपछि देश कसरी प्रगतिपथमा लम्कन सक्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *