एजेन्सी: नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले भारत र चीनबीच हालै लिपुलेक मार्ग हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिको विरोध जनाएको छ।
कार्यवाहक अध्यक्ष महाराज गुरुङले विज्ञप्ति जारी गर्दै ऐतिहासिक अभिलेख, तथ्य, प्रमाण र नक्साका आधारमा कालापानी-लिपुलेक-लिम्पियाधुरा क्षेत्र नेपालको भूमि भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संलग्नता र सहमति बिना दुई छिमेकी मित्र राष्ट्रहरूले यस क्षेत्रमा कुनै पनि गतिविधि गर्नु नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रत्यक्ष उल्लङ्घन हो जुन अस्वीकार्य छ ।
यसअघि पनि सन् २०१५ मा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यसैप्रकारको सहमति हुँदा समेत नेपाललाई संलग्न नगरिएको तथ्य विद्यमान छ । भारतले २०२० मा लिपुलेक हुँदै सडक निर्माण गरेको घटनाले नेपालभित्र व्यापक असन्तोष निम्त्याएको स्मरणीय छ ।’
सरकारले निरन्तर कूटनीतिक विरोध र वार्ताको माध्यमबाट आफ्ना दाबीहरू प्रस्तुत गर्दै आएको उल्लेख गर्दै पुनः नेपाललाई बेवास्ता गरेर नेपाली भूमिको प्रयोग सम्बन्धी सहमति गरिनु मित्रतापूर्ण छिमेकी सम्बन्ध र आपसी विश्वासको भावनाको विपरीत भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाल सरकारलाई यसबारे तत्काल कूटनीतिक पहल गर्न र राष्ट्रिय हित, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दछौं ।