खोरीबारीमा एटीएम लुट्ने प्रयास

सिलगढ़ीपछि अब खोरीबारीमा एटीएम तोड़फोड़ गरी लुट्ने प्रयास भएको छ। यो घटना बुधवार अबेर राति खोरीबारी भालुकगाड़ा बजारस्थित 327 नम्बर राष्ट्रिय राजमार्गनजिक जनबहुल क्षेत्रमा भएको हो। यस घटनापछि स्वाभाविक रूपमा व्यापक चहलपहल फैलिएको छ। प्राप्त जानकारीअनुसार, खोरीबारी भालुकगाड़ा बजारमा एउटा एटीएम छ । नजिकै नै बिहारतर्फ जाने राष्ट्रिय राजमार्ग छ। यो सड़क मार्ग हुँदै रातभरि मालवाहक ट्रकहरू ओहोरदोहोर गर्छन्।

स्थानीय सूत्रअनुसार बुधबार राति लगभघ 2 बजी एउटा सानो चार चक्के गाड़ीमा आएको एक समूहका असामाजिक तत्त्वहरू उक्त एटीएमअघि आइपुगे । तिनीहरूले एटीएमभित्र पसेर फलामको रड प्रयोग गरी मसिन तोड़फोड़ गरेर लुट्ने प्रयास गरे।
तर एकजना स्थानीय चिया व्यापारीको सतर्कताको कारण लुटको प्रयास असफल भयो। व्यापारीको चर्को आवाज सुनेर वरिपरि मानिसहरू दौड़िएर त्यहाँ आए। यसबीच मौका पाएर अपराधीहरूले गाड़ीमा चढ़ेर बिहारतर्फ सुइँकुच्चा ठोके। पछि खबर पाएर खोरीबारी थाना पुलिस पनि घटनास्थलमा आइपुग्यो। उक्त एटीएम सञ्चालक संस्थालाई पनि त्यस घटनाबारे जानकारी दिइयो।
खोरीबारी पुलिसको टोलीले यस घटनाको जाँच आरम्भ गरेको छ। गाड़ीको पहिचान गरेर दुष्कृतिहरूबारे जानकारी सङ्कलन गर्न सिसिटिभी फूटेज पनि जाँच भइरहेको छ। तर स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा बजारको भीड़बीच पनि रातको अँध्यारोमा एटीएम लुट्ने प्रयास भएको घटनाले पुलिसको निगरानीबारे प्रश्न उठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *