सन्न्यासीकट्टा सम्बन्धी जाँच समिति गठन

राजगञ्ज ब्लकको सन्न्यासीकट्टा गाउँहरूमा लेप्टोस्पाइरा अनि हेपाटाइटिस–ए तीव्र गतिमा फैलिँदैछन्। मङ्गलवारसम्म पनि यहाँको स्थिति भयावह छ। ब्लक स्वास्थ्य कार्यालयले चेक्रामारी गाउँबाट एम्बुलेन्समार्फत 10 जना रोगीहरूलाई ल्याएर राजगञ्ज ग्रामीण अस्पतालमा भर्ना गराएको छ। मङ्गलवार गाउँहरूमा स्वास्थ्य शिविर राखिएको थियो। सूत्रअनुसार मङ्गलवार जस जसको रगतको नमुना सङ्कलन गरिएको थियो तीमध्ये अधिकांशको रिपोर्ट पोजेटिभ आएको छ। राजगञ्ज ग्रामीण अस्पताल सूत्रअनुसार अहिलेसम्म अस्पतालमा 27 जना रोगी भर्ना भएका छन्। अवस्था नियन्त्रण गर्न अस्पतालमा थप 10 वटा बेडको व्यवस्था गरिएको छ। मङ्गलवार मात्रै 68 जनाको रगतको नमुना सङ्कलन गरिएको छ। जलपाइगढ़ीका जिल्ला अधिकारी श्यामा परविनले भनिन्, राजगञ्जमा रोगको प्रकोप नियन्त्रण गर्नका लागि स्वास्थ्य, लोक स्वास्थ्य तथा प्राविधिक विभाग अनि पशुपालन विकास विभागलाई समेटेर छानबिन समिति गठन गरिएको छ। प्राथमिक अनुमानअनुसार रोग पानीबाट फैलिएको हो। सम्पूर्ण रिपोर्ट आएपछि वास्तविकता थाहा हुनेछ। गाउँमा पीएचईको पानी प्याकेटसितै ट्याङ्कर पनि पठाइएको छ। उता पोल्ट्री फार्मविरुद्ध विभिन्न विभागसहित वातावरण र प्रदूषण नियन्त्रण बोर्डको प्रतिवेदन नकारात्मक आए आवश्यक कारवाही गरिनेछ।
सन्न्यासीकट्टा ग्राम पञ्चायतका नौवटा गाउँमा रोग फैलिएको भए पनि अहिलेसम्म राजगञ्जका बीडीओ प्रशान्त बर्मनलाई त्यहाँ देखिएको छैन। गिरानगाछ क्षेत्रका पञ्चायत सदस्य सन्तोष रोयले भने, जिल्लाबाट अधिकारीहरू गाउँमा आइरहेका छन् तर राजगञ्जका बीडीओले समय निकाल्न सकेनन्। बीडीओ कार्यालय जाँदा पनि प्रशान्त बर्मनलाई भेटिएन। फोनमार्फत सम्पर्क हुन सकेको छैन।
अस्पतालरमा आएका कुताबगाछ गाउँका बासिन्दा धनञ्जय रोयले भने, मेरो बुहारी निता चार दिनदेखि ज्वरो र वान्ता हुने लक्षणका कारण राजगञ्ज ग्रामीण अस्पतालमा भर्ना छिन्। तिनको स्वास्थ्यमा खासै सुधार आएको छैन। रगत परीक्षण गरिएको छ तर रिपोर्टमा के छ भनेर हामीलाई जानकारी दिइएको छैन। क्वालीसगाछ गाउँका वासिन्दा साबिर मोहम्मदले भने, मेरी श्रीमती केही दिनदेखि ज्वरो र जण्डिसले पीड़ित छिन्। ज्वरो कम्ती भए पनि अझै जण्डिस छ। मेरा भतिजा र गाउँका धेरै मानिसहरू पनि यसै रोगले ग्रसित छन्। चेक्रामारी गाउँका वासिन्दा अनि राजगञ्ज पञ्चायत समितिका पूर्व विद्युत कर्माध्यक्ष रञ्जित मण्डलले भने, यसअघि गाउँमा यति धेरै प्रकारका रोग हुँदैन थियो। हामीलाई लाग्छ गाउँको छेउमा ह्याचरी बनेपछि नै रोग बढ़ेको हो। प्रशासनले उक्त ह्याचरीलाई अर्को स्थानमा सारिदियोस् भन्ने हामी चाहन्छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *