विमल गुरुङको शुभेन्दु अधिकारीसित भेट

आगामी विधानसभा चुनाउमा गोर्खा जनमुक्ति मोर्चा(गोजमुमो)का सर्वोच्च नेता विमल गुरुङ फेरि भाजपासित हात मिलाउन लागेका छन् त? यस्तै चर्चा राजनैतिक वृत्तमा उठ्न थालेको छ। बिहीवार कलकत्तामा विधानसभा विपक्षी दलका नेता शुभेन्दु अधिकारीसित विमल गुरुङ अनि मोर्चाका महासचिव रोशन गिरीले लामो समय एकान्तमा बैठक गरे। यस भेटघाटपछि दार्जीलिङको राजनैतिक माहोल तातिएको छ। बैठकपछि रोशन गिरीले भने, पहाड़को राजनीतिका केही महत्त्वपूर्ण विषयहरूमा छलफल भयो। तर त्यसबाहेक तिनले थप केही बताएनन्। विमल गुरुङ अनि भाजपाको सम्बन्ध पुरानै हो। पृथक राज्य गोर्खाल्याण्डको मागसित भाजपा पनि पहिलेदेखि नै परिचित छ। विगतमा आफ्ना चुनाउ घोषणापत्रमा भाजपाले पृथक राज्य गोर्खाल्याण्ड बनाउने मुद्दा उठाएको थियो। तब भाजपा पश्चिम बङ्गालमा प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएको थिएन। तर दार्जीलिङ लोकसभा आसनबाट भाजपा विजयी बनेको थियो। 2009 को लोकसभा चुनाउमा भाजपाका जसवंत सिंह विजयी भएका थिए। 2011 मा पश्चिम बङ्गालमा सत्ता परिवर्तनपछि पनि विमल गुरुङहरू अनि भाजपाबीच चुनाउ सहमति कायम रह्यो। 2014 को लोकसभा चुनाउमा भाजपाका उम्मेद्वार एसएस अहालुवालिया विजयी भए अनि 2019 देखि लगातार दुईपल्ट दार्जीलिङ आसनबाट भाजपा उम्मेद्वार राजु विष्ट विजयी बने।
सन् 2017 मा पृथक राज्य गोर्खाल्याण्डको मागमा विमलहरू फेरि आन्दोलनमा उत्रिए। आन्दोलन हिंसात्मक बन्यो। अशान्तिपछि अकस्मात विमलले पहाड़ छाड़े। लामो समयको अज्ञातवासपछि तिनी 31 अक्टोबर 2020 मा कलकत्तामा देखिए। सल्टलेकस्थित गोर्खा भवनमा प्रवेश गर्न नपाएपछि तिनले एउटा होटलमा पत्रकार सम्मेलन गर्दै तृणमूलसित गठबन्धनको सन्देश दिएका थिए। तिनले ममता ब्यानर्जीको प्रशंसा गर्दै 2021 को विधानसभा चुनाउमा तृणमूलको पक्षमा लड्ने घोषणा गरेका थिए। तिनले दार्जीलिङ नगरपालिकाको चुनाउमा तृणमूलसित मिलेर बोर्डसमेत गठन गरे। तर केही समय नबित्दै 2024 को लोकसभा चुनाउअगाडि अलिपुरद्वारमा शुभेन्दु अधिकारीको सभामा गोजमुमो नेता विमल गुरुङ देखिए। त्यसले स्वाभाविक रूपमा राजनैतिक हलचल मच्चियो। त्यति बेला विमलले भनेका थिए, राजनीतिमा सबै सम्भव छ।
अनित थापालाई अघि राखेर पहाड़को राजनीतिमा निर्णायक भूमिका लिन चाहन्छ तृणमूल। यद्यपि उत्तर बङ्गालको राजनीतिमा ममता ब्रिगेडले गुमाएको जमीनको धेरै अंश फिर्ता लिन सफल भएको छ। 2019 को लोकसभा चुनाउमा उत्तर बङ्गालमा तृणमूलले खासै प्रभाव पार्न सकेको थिएन। तर 2021 को विधानसभा चुनाउदेखि सत्तारूढ दलले फेरि आफ्नो जमीन फिर्ता लिन आरम्भ गर्यो । सोही क्रममा केही महीनाअघि सम्पन्न भएको उपनिर्वाचनमा पनि तृणमूलले राम्रो परिणाम ल्याएको छ। तृणमूलको यस्तो प्रदर्शनले भाजपामाथि अवश्य पनि दबाउ सिर्जना गरेको छ। यसै दृष्टिकोणले विमल गुरुङ अनि शुभेन्दु अधिकारीमाझ भेटघाटको अर्थ निकै गहिरो छ। विगतमा धेरैपल्ट निर्वाचनमा विमल गुरुङहरूलाई साथमा लिएर पहाड़को राजनीतिमा प्रभुत्व जमाउन भाजपा सफल भएको राजनैतिक विश्लेषकहरूको एक अंशले मानिरहेको छ। त्यसैलाई ध्यानमा राख्दै यसपल्ट पनि विमलहरूलाई साथमा राखेर सफलता पाउने शुभेन्दुहरूले आशा राखिरहेका छन्। अर्कातिर पहाड़को राजनीतिलाई नजिकबाट बुझ्ने धेरैले विगतमा विमल गुरुङको जुन राजनैतिक महत्त्व थियो त्यो अहिले नरहेको मानिरहेका छन्। पहाड़को राजनीतिमा एक समय मुकुटविहीन सम्राट मानिने विमल गुरुङले भाजपालाई साथमा लिएर आफ्नो गुमेको भूमि फर्काउने प्रयास गरिरहेका पनि तिनीहरू राजनैतिक विश्लेषकहरू मान्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *