एजेन्सी: सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिए आइपुग्छन् । ठेलमा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ । उनको ठेला देख्नेवित्तिकै सातु पिउने मानिसको भीड हुन्छ । उनले लिएर आउने ठेलाको टायरमा हावा हुँदैन । उनको सातु स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाइ रहेको छ । उनले भने, “ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्टि छन् । सातु बिक्री गरेर मासिकरुपमा रु ५० हजार आम्दानी हुन्छ ।” गर्मीयामका बेलामा रु एक लाख मासिक कमाउने गरेको र चिसोको बेलामा आम्दानी हुने उनको भनाइ रहेको छ । चिसोका बेलामा दैनिक रुपमा एक सयदेखि एक सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको छ भने गर्मीका बेलामा दुई सयदेखि दुई सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको उनले बताए । उनले करिब पाँच वर्षदेखि इनरुवाको मुख्य बजारमा सातु बिक्री गर्दै आएका छन् । उनले विगतका वर्षमा विभिन्न व्यापार गर्दा असफलता प्राप्त भएकामा यस व्यापारले राम्रो फाइदा हुने गरेको बताए । दैनिक रुपमा सामग्री महँगिँदै गएका बेलामा प्रति गिलास सातुको रु ४० लिने गरेको उनको भनाइ छ । दैनिक रुपमा रु चार हजारदेखि पाँच हजारसम्मको बिक्री हुने गरेकोमा खर्च कट्टा गरेर मासिक रुपमा रु ५० हजारदेखि ६० हजारसम्म आम्दानी हुने गरेको पौदारले बताए ।