नेकपा एमालेले आगामी मंसिरमा आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई लक्षित गर्दै तयारी अघि बढाएको छ।
मंसिर २ र ३ गते काठमाडौंमा हुने भेलाका लागि मंगलबार पहिलो तयारी बैठक बसेको हो।
उपमहासचिव लेखराज भट्ट तथा सचिवद्वय भानुभक्त ढकाल र महेश बस्नेतसहितका नेताहरू सहभागी बैठकमा भेलाको व्यवस्थापन, सहभागिता र तयारीका विषयमा छलफल भएको एमालेले जनाएको छ।
बैठकमा उपमहासचिव भट्टले पार्टीका नीति, पारित दस्तावेज तथा वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला गर्न लागिएको जानकारी दिए ।
राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार १६४ जना सहभागी हुने एमालेले जनाएको छ ।
भेलामा पार्टीका ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा प्रदेश भूगोलका आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना सहभागी हुने एमालेले जनाएको छ ।
यसैगरी, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जनाको सहभागिता रहने सचिव ढकालले जानकारी दिए ।
यस्तै, उनले पार्टीको पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुने पनि जनाए ।
उनले संघीय संसद् तथा राष्ट्रिय सभासहित ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना, उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना र जनसंगठनबाट ९६ जनाको पनि राष्ट्रिय भेलामा सहभागिता रहने बताए ।
