एजेन्सी: रोल्पाको रुन्टीगढी गाउँपालिका–६ सापडाँडाबाट उद्गम भएको ग्वार खोला (गणेश गङ्गा)को ऐतिहासिक र धार्मिक महत्त्व उजागर गर्दै संरक्षण अभियान सुरु गरिएको छ । गोकर्ण पौडेल र सागर रेग्मीले संरक्षण अभियानको सुरुवात गरेका हुन् ।
किंवदन्ती अनुसार सापडाँडास्थित पर्वतमा शिवशक्तिस्वरूप नागद्वयले तपस्या गरेका थिए । त्यसस्थलमा आज पनि नागको आकृति देख्न सकिन्छ । त्यही ठाउँबाट बग्ने चन्दन (सापडाँडा) र पाताले खोला मिलेर गणेश गङ्गा बनेको मानिन्छ ।
साहित्यकार मेघराज उपाध्याय, योगी नरहरीनाथ र धर्मशास्त्रविद् श्रीधर शर्मा मजगैयालगायतका कृतिहरूमा समेत गणेश गङ्गाको उल्लेख गरिएको अभियन्ता पौडेलले बताए ।
तुलसीपुर उपमहानगरको स्थानीय पाठ्यक्रममा समेत यस नदीलाई ‘गणेश गङ्गा’को रूपमा समावेश गरिएको छ ।
औषधीय गुणयुक्त जडीबुटी वन क्षेत्र हुँदै बग्ने यस नदीबाट करिब १० हजार हेक्टर जमिन सिँचाइयोग्य रहेको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ ।
‘गणेश गङ्गा अभियान’ अभियन्ता पौडेल रेग्मीले माघ स्नान, जनै पूर्णिमा, फागु पूर्णिमा, छठजस्ता अवसरमा स्नान गरी पुण्य प्राप्त गर्न र नदीलाई सफा राख्न सबैलाई आह्वान गरेका छन् ।