एजेन्सी|: बिहीबार बिहान साढे १० बजेको समय । जिल्ला प्रशासन कार्यालय काठमाडौंको मूल ढोकातर्फ पुग्दा, सामान्य दिनमा जस्तो भिडभाडको अपेक्षा थियो, तर दृश्य फरक देखियो । एक समय बिहानैदेखि सेवाग्राहीको भिडले मूल ढोका बाहिरसम्म भरिने यो कार्यालय अब केवल केही छिटपुट मानिस र राखिएको पालमुनि काम गरिरहेका कर्मचारीसम्म सीमित भएको छ ।
प्रवेशद्वार भित्र एउटा कुर्सी, एउटा टेबल र त्यसकै माथि टाँगिएको कागज, ‘सहायता कक्ष’ देखिन्छ । पहिले यो कार्यालय भवनभित्र हुन्थ्यो, तर अब भित्र पस्न सकिँदैन । त्यही पालमुनि ‘जेनजी आन्दोलन’मा घाइते भएकाका परिचयपत्र वितरणको काम भइरहेको छ ।
कार्यालयको भित्री स्वरूप पनि अब पहिचानै बदलिएको छ । जहाँ पहिले लेखा शाखा थियो, त्यही कोठा २०० नम्बरमा अहिले प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष बनाइएको छ । अब सेवाग्राही सिधै त्यो ढोका हुँदै पस्दा प्रमुख जिल्ला अधिकारीकै कोठामा पुग्छन् । प्रशासन शाखाका सबै कर्मचारी पनि त्यही नजिक काम गरिरहेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारीको लागि बस्ने ठाउँ छैन । उनीहरू कोही वरपर हिँडिरहेका, कोही बाहिरपट्टि भवनको पेटीमा बसेर फाइल मिलाउँदैछन् । सहायक प्रमुख जिल्ला अधिकारी अकोशकुमार भण्डारी, मुक्तिराम रिजाल र ओमप्रसाद भट्टराई मध्ये कोही प्रमुखको कक्ष वरिपरि भेटिन्छन् भने कोही आँगनतिरका छायामा फाइल पल्टाइरहेका हुन्छन् ।
भवनको बाहिरी स्वरूप अझै भयानक छ । गाढा हरियो कपडाले पुरै ढाकिएको भवनमा रातो स्टिकर टाँसिएको छ, सहरी विकास तथा भवन निर्माण विभागले ‘जोखिमपूर्ण’ भन्दै राखेको चेतावनी हो त्यो । प्राविधिकले भित्र पस्न निषेध गरेका छन् । रातो स्टिकर टाँसिएको भवनमा बस्न नहुने नियम हो, तर कार्यालय चलाउनुपर्ने बाध्यता यति ठूलो छ कि कतिपय कर्मचारीले त्यसैको छेउछाउबाट काम गर्न बाध्य छन् ।
गत भदौ २४ गतेको बिहान सिंहदरबारको आडैमा रहेको यो कार्यालय ‘जेनजी आन्दोलन’को मुख्य निशानामा पर्यो । आन्दोलनकारीले आगजनीबाट सम्पूर्ण भवनलाई ज्वालामुखीजस्तो बनाइदिए । केही घण्टामै प्रशासन भवन खरानीको थुप्रोमा परिणत भयो । तलको नागरिकता शाखा र राहदानी शाखा मात्र केही हदसम्म जोगिए, तर त्यहाँ भएका कम्प्युटर, ल्यापटप, क्यामेरा र फाइल सबै या त जले, या लुटिए ।
भोलिपल्ट बिहान सबेरै कर्मचारी कमल गिरी र तेज धामी घटनास्थल पुगे । उनीहरूले अझै धुवाँ नअटेको कोठाभित्र पस्दै आगो निभाए र केही अभिलेख बाहिर निकाल्न सफल भए । ती नै कार्यालयको जीवनका बाँकी अंश थिए ।
आज पनि प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल पहिले थन्क्याइएको पुरानो गाडी चढेर कार्यालय पुग्छन् । त्यही गाडी, जसलाई काम नलाग्ने भनेर थन्क्याइएको थियो, अहिले प्रमुखको एक मात्र सवारी बनेको छ । तीन सहायक प्रमुख जिल्ला अधिकारी मध्ये कोही मोटरसाइकलमा, कोही सार्वजनिक बसमा, कोही पठाओ चढ्दै आउँछन् । उनीहरू भन्छन्, ‘भवन जले पनि, सेवा रोकिँदैन ।’ यही भावना लिएर उनीहरू हरेक बिहान आफ्नो जलेको कार्यालयको प्राङ्गणमा फिर्ता आउँछन् ।
हाल जिल्ला प्रशासन कार्यालयलाई अस्थायी रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भवनमा सार्ने तयारी भइरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल र प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवा नजिकैको त्यो भवनमा व्यवस्थापनका काममा व्यस्त छन् । रिजाल भन्छन्, ‘हामीले नयाँ नागरिकता र प्रतिलिपिको काम सुरु गरिसकेका छौँ । जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण गर्दैछाैं। शान्ति सुरक्षा र प्रशासनका अत्यावश्यक काम पालमुनि नै चलिरहेका छन् ।’
तर, उनको आवाजमा थकान र पीडाको मिश्रण पनि सुनिन्छ । उनी थप्छन्, ‘हाम्रो २०२४ सालदेखि अहिलेसम्मका नागरिकताका सबै अभिलेख जलेर नष्ट भए । डेढ लाखको हाराहारीमा तयार भइसकेका राष्ट्रिय परिचयपत्र खरानी भए । राष्ट्रिय परिचयपत्रमा प्रयोग भएका क्यामेरा, ल्यापटप सबै नष्ट भए । मुद्दा शाखा पूर्णरूपमा जलेर ध्वस्त भयो । सीडिओ र सहायक सीडिओका कक्ष, हातहतियार शाखा र नागरिकता अनुसूचीका फाइल सबै ध्वस्त भए ।’
सहरी विकास तथा भवन निर्माण विभागले रातो स्टिकर टाँसिसकेकाले कार्यालय भवन प्रयोगमा लिन निषेध जस्तै भएको छ । भित्र पस्ने अनुमति छैन । तर अत्यावश्यक सेवा रोक्न नसक्ने भएकाले नागरिकता वितरणका लागि भवनको बाहिरपट्टिबाट ढोका खोलेर एउटा कोठा प्रयोग गरिएको छ । त्यहीँबाट नयाँ नागरिकता र प्रतिलिपि सेवा सुचारु गरिएको छ । मुद्दा शाखाका केही फाइल पुनःसङ्कलन गरिएका छन् ।
प्रमुख जिल्ला अधिकारी पौडेल भन्छन्, ‘राष्ट्रिय परिचयपत्र र राहदानीको काम अझै अवरुद्ध छन् । सायद अब आइतबारदेखि परिचयपत्र सेवा पुनः सुरु हुनेछ । राहदानी सेवा पनि तयारीमै छ । नयाँ संस्था दर्ता र नवीकरणका काम अहिले रोकिएका छन्, तर पहिले तयार भइसकेका राहदानी भने वितरण भइरहेका छन् ।’ उनका अनुसार सकेसम्म यो साताभित्रै नभए अर्को हप्तादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भवनमा सबै सेवा पुनः सुचारु गर्ने तयारी पूरा हुनेछ ।
कार्यालयका तीनवटा चारपाङ्ग्रे सवारी साधन पूर्णरूपमा जलेका छन् । प्रमुख जिल्ला अधिकारीको गाडी गृह मन्त्रालयमै जलेको हो भने बाँकी दुईवटा कार्यालयमै नष्ट भए । दुई वटा गाडी आधा जलेका छन्, जसलाई ग्यारेजमा पठाएर मर्मत गर्न सकिने सम्भावना खोजिँदैछ । कतिपय मुद्दासँग सम्बन्धित बाइक, कर्मचारीका व्यक्तिगत मोटरसाइकल र कार्यालयका अन्य सवारीसाधन पनि खरानी बने ।
यद्यपि, यसबीचमा सबैभन्दा उल्लेखनीय कुरा भनेको प्रशासनका कर्मचारीको अठोट हो । उनीहरूको हातमा कालो फाइल र मनमा सेवाभाव मिसिएको छ । कसैले धुलो झार्दै नयाँ कागज तयार गरिरहेका छन्, कसैले नागरिकताको फारममा नयाँ मिति लेखिरहेका छन् । कार्यालयको भित्ता कालो छ, तर त्यही कालो भित्तामुनि प्रशासन पुनः जीवित हुँदैछ ।
जलेको भवनको अवशेष हेर्दा लाग्छ, पर्खाल, ढोका र सिसा खरानी बनेका छन्, तर प्रशासनको आत्मा अझै बाँकी छ । अब कार्यालय फेरि आफ्नो लयमा फर्किंदैछ, तर यो लय पहिलेकोभन्दा फरक । पहिले यो लय दैनिकीको थियो, अब संघर्षको । सेवाग्राहीका लागि कार्यालय फेरि खुल्दैछ, नागरिकताका ढड्डा फेरि तयार हुँदैछन्, र प्रशासन फेरि नागरिकमै फर्कँदैछ, एक पटक फेरि, खरानीमाथिबाट ।