उत्तर बङ्गालको जनसाङ्ख्यिकी तथ्याङ्कअनुसार अलिपुरद्वार जिल्लाभरि कम्तीमा 40 वटा आदिवासी समुदायका मानिसहरू बसोवास गर्छन्। ती समुदायहरूमा सन्थाल, राभा, गारो, डुक्पा, उराँव, मेच, मुण्डा, साथै तामाङ, लिम्बू लगायतका जनजाति छन्। प्रत्येक समुदायको आफ्नै भाषा, साहित्य, संस्कृति, लुगा, गहना, लिपि, बाजागाजा, धार्मिक रीतिरिवाज र दैनन्दिन जीवनमा प्रयोग हुने सामग्रीहरू छन्। लोप हुने अवस्थामा पुगेका ती पुराना परम्परालाई जोगाइराख्न आपनकथा अनि माझेरडाबरी चियाबारी प्रशासनले संयुक्त रूपमा विशेष पहल थालेका छन्। तिनीहरूको संयुक्त प्रयासमा निर्माण हुनेछ आदिवासी सङ्ग्रहालय। प्राप्त जानकारीअनुसार आगामी 24 अगस्तमा यस सङ्ग्रहालयको शिलान्यास माझेरडाबरी चियाबारी परिसरमा हुनेछ।
माझेरडाबरी चियाबारी म्यानेजर चिन्मय धरले भने, अलिपुरद्वारका चियाबारीहरू मुख्यत: आदिवासी बहुल क्षेत्र हुन्। यहाँका लगभग 95 प्रतिशत मानिस आदिवासी समुदायका छन्। तिनीहरूको पुरानो संस्कृति र परम्परा जोगाइराख्न यो सङ्ग्रहालय निर्माणको पहल गरिएको हो। यस सङ्ग्रहालयमार्फत डुवर्सको पर्यटन क्षेत्रमा नयाँ सन्देश पुग्नेछ साथै शैक्षिक अनुसन्धानका लागि पनि नयाँ बाटो खोलिनेछ। आपनकथा संस्थाका सचिव पार्थ साहाले भने, हाम्रो मूल उद्देश्य डुवर्सका आदिवासी लेखक–शिल्पीहरूका लागि साहित्यिक अभ्यासको क्षेत्र तयार गर्नु थियो। त्यसै उद्देश्यले पुस्तक सङ्ग्रहालय बनाइएको थियो। पछि त्यस प्रयासलाई व्यापकता दिन आदिवासी सङ्ग्रहालय र अध्ययन केन्द्र बनाउने सोच भयो। भविष्यमा यो पहल एउटा उदाहरणीय कदम बन्ने आशा छ।
अलिपुरद्वार जिल्ला होटल तथा रिसोर्ट एसोसिएशनका महासचिव पवन पुरोहितले भने, आदिवासी सङ्ग्रहालय निर्माणको पहललाई स्वागत गर्दछु। राजाभातखावा, बोक्सा, जयन्ती, सिकीआझोरा घुम्न आउने धेरै पर्यटकहरू माझेरडाबरी चियाबारी पनि पुग्छन्। अब तिनीहरूले सङ्ग्रहालय हेर्ने अवसर पनि पाउनेछन्। उत्तर बङ्गालको आदिवासी समुदायको पहिचान समयको प्रवाह र आधुनिकताको प्रभावले हराउँदै गइरहेको छ। त्यसैले युवा पुस्ताले यसबारे जान्ने अवसर पाउन सकेको छैन। यस विषयलाई विशेष ध्यान दिइएको छ भनेर आयोजकहरूले बताए। साथै स्थानीय वासिन्दामाझ आदिवासी समुदायबारे सचेतना फैलाउनु पनि एउटा महत्त्वपूर्ण लक्ष्य हो। पर्यटकहरूलाई जिल्लाको आदिवासी समुदायबारे बुझ्ने अवसर उपलब्ध गराइएपछि पर्यटन क्षेत्रमा ठूलो प्रभाव पर्ने अपेक्षा गरिएको छ।
