हर्नको सानो आवाज छ, तर धुवाँ छैन। साँघुरो घुम्ती पार गर्दै टोय ट्रेन पहाड़को छेउ हुँदै अघि बढ्दैछ। कल्पनामा देख्न सकिने यस्तो दृश्य अब विज्ञानको उपलब्धिले यथार्थमा ल्याउने तयारी चल्दैछ। यदि यस वर्षको दशैँ-तिहारमा हाइड्रोजन इञ्जिन चल्ने टोय ट्रेन शैलरानी (दार्जीलिङ) को बाटोमा गुड्न थाले अचम्म मान्नु पर्दैन। रेल मन्त्रालयको हरियो सङ्केतसितै दार्जीलिङ हिमालयन रेलले यसको तयारी थालिसकेको छ। रेल लाइन, स्टेशन, रिफ्युलिङ स्टेसन र अन्य पूर्वाधारको विकासका लागि के-के आवश्यक पर्छ भनेर अध्ययन भइरहेको छ। आउँदो महीना रेल मन्त्रालयका विशेषज्ञहरूको टोली दार्जीलिङ आउँदैछ। त्यसपछि अन्तिम तयारी आरम्भ हुनेछ। डीएचआरका निर्देशक ऋषभ चौधरीले भने, हाइड्रोजन रेल सञ्चालन गर्ने योजना बनाइएको छ। तर कहिलेदेखि चल्ने भन्ने निश्चित निर्णय भइसकेको छैन।
हामी पूर्वाधार विकासमा ध्यान दिइरहेका छौँ। पानीले चल्ने रेल, सुन्दा अचम्म लाग्न सक्छ। तर यो वर्ष त्यो यथार्थ बन्ने पथमा छ। रेलको योजनाअनुसार अब रेल चलाउन डिजल वा बिजुलीको आवश्यकता पर्ने छैन। पानीबाट उत्पादन हुने हाइड्रोजन ऊर्जाले पूरा रेल तान्नेछ। जल तथा वाष्पबाट हाइड्रोजन निकालिनेछ। यस रेल सञ्चालनको पहिलो चरणमा निलगिरी माउण्टेन रेलवे, काल्का-शिमला रेल्वे र दार्जीलिङ हिमालयन रेललाई चयन गरिएको छ। गत महीना रेल मुख्यालयमा यस विषयमा एउटा बैठक सम्पन्न भएको थियो। बैठकमा उत्तर–पूर्व सीमान्त रेलवेका अधिकारीहरू र डीएचआरका प्रतिनिधिहरू उपस्थित थिए। त्यसपछि उत्तर–पूर्व सीमान्त रेलवेको मालीगाउँ मुख्यालयमा अर्को बैठक भयो। बैठकमा पूर्वाधार विकासका लागि के-कस्ता परिवर्तन आवश्यक पर्छ, कहाँ-कहाँ रिफ्युलिङ स्टेसन बनाउनुपर्छ, इञ्जिन र कोच कहाँ राख्ने भन्ने विषयमा छलफल भएको थियो। रेल सूत्रअनुसार न्यू जलपाइगढ़ी जङ्क्शन, तीनधारे वर्कशप र दार्जीलिङमा रेल राख्नका लागि विशेष पिट लाइन निर्माण गरिनेछ किनकि हाइड्रोजन रेललाई प्रति घण्टा लगभग 40000 लिटर पानी आवश्यक पर्छ। त्यसैले प्राथमिक चरणमा रङटङ र खरसाङमा रिफ्युलिङ स्टेसन बनाउने योजना छ।
साथै केही स्टेशनहरूको आधुनिकीकरण र ट्र्याक परिमार्जन आवश्यक देखिएको छ। डीएचआर सूत्रअनुसार रेल मन्त्रालयको विशेषज्ञ टोलीको निरीक्षणपछि तिनीहरूको सिफारिसअनुसार कार्य अघि बढ़ाइनेछ। भारतलाई प्रदूषणमुक्त बनाउने लक्ष्यअनुसार केन्द्र सरकारले सन् 2070 लाई लक्ष्य बनाएको छ। रेललाई सन् 2030 भित्र कार्बनमुक्त बनाउने योजना रेल मन्त्री अश्विनी वैष्णवको छ। हाइड्रोजन रेलबाट कार्बन डाई अक्साइड र नाइट्रोजन अक्साइड निस्कँदैन त्यसकारण पहिलो चरणमा पहाड़ी क्षेत्रलाई रोजिएको हो। साथै 1200 हर्सपावर क्षमताको इञ्जिन भए पनि यसको आवाज कम रहनेछ। यसले हावा प्रदूषण मात्र होइन ध्वनि प्रदूषणसमेत कम्ती गर्नेछ। यो रेल चेन्नईको इण्टिग्रल कोच फ्याक्ट्रीमा निर्माण हुँदैछ जसको केही काम मात्र बाँकी छ। यदि सबै योजना सफल भए आगामी 31 मार्च हरियाणाको जिंन्द र सोनीपतबीच परीक्षण यात्रा गरिनेछ। यदि त्यो सफल भए दोस्रो चरणमा काल्का–शिमला मार्गमा हाइड्रोजन रेल चल्नेछ। त्यसपछि न्यू जलपाइगढ़ी जङ्क्शनदेखि दार्जीलिङसम्म हाइड्रोजन टोय ट्रेन गुड्नेछ।