‘फर्म’ गुमाएको शीर्ष क्रम, भर नभएको बलिङ

पहिलोपल्ट आईसीसी टी-२० विश्वकपमा पुग्ने लक्ष्यसहित नेपाली महिला टोलीले ग्लोबल क्वालिफायर खेल्दै छ। घरेलु मैदानमा हुन लागेको अहिलेसम्मकै ठूलो आईसीसी प्रतियोगिताका लागि नेपालले करिब डेढ महिनाअघिदेखि नै तयारी पनि थालिसकेको हो। तर, आइतबारबाट त्रिवि क्रिकेट रंगशाला र माथिल्लो मूलपानीमा एकसाथ सुरु हुने विश्वकप छनोटअघिका अभ्यास र ‘वार्मअप’ खेलका नतिजाले भने महिला टोलीको विश्वकप सपना कति नाजुक छ भन्ने उजागर गरिदिएको छ।

नेपालले अमेरिकासँग तीन र स्कटल्यान्डसँग एक अभ्यास खेल तथा आयरल्यान्डसँग एक वार्मअप म्याच खेलिसकेको छ। जसमध्ये अमेरिकाविरुद्ध समान चार विकेटको दुई जित हात पार्नुबाहेक बाँकी तीन खेलमा नेपाल पराजित भयो।

अमेरिकासँगैको दोस्रो अभ्यास खेलमा आठ विकेटको फराकिलो हार बेहोरेको नेपालले दुई टेस्ट राष्ट्र आयरल्यान्ड र स्कटल्यान्डलाई क्रमशः १०१ र २७ रनको जित सुम्पिएको थियो।

यी तीन टोलीलाई प्रतियोगिताको ठूलो चुनौतीको रूपमा हेरिन्छ। र, यस्तो नतिजाले नेपाली टोलीलाई स्वाभाविक रूपमा चिन्ता थप्नेछ। “हाम्रा प्रतिस्पर्धी भनेकै यिनै टोली हुन्। त्यसैले हामीले राम्रो नतिजा निकाल्नुको विकल्प छैन,” महिला टोलीका पूर्वप्रशिक्षक मनोज कटवाल भन्छन्। पुरानै कमजोरी, उस्तै असफलता

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। यस समूहमा स्कटल्यान्ड र जिम्बाबेजस्ता टेस्ट राष्ट्रसँगै एसोसिएटका बलियो टोली नेदरल्यान्ड्स र थाइल्यान्ड पनि छन्। यीमध्ये स्कटल्यान्ड र जिम्बाबे नेपालका लागि नौला प्रतिस्पर्धी हुन्।

“हाम्रो पोलमा बलियो टोली छन् भने हामी मेन्टली डाउन भइहाल्छौँ। तर, हामी हाम्रै टिममा फोकस गरिरहेका छौँ। हामी एसोसिएट राष्ट्रसँग खेल्दा कहाँ चुक्यौँ भनेर समीक्षा गर्दै छौँ,” क्याम्प सुरु हुँदा अलराउन्डर रुविना क्षेत्री बेलबासेले भनेकी थिइन्।

नेपाल पछिल्ला वर्षमा निरन्तर चुकेको चाहिँ ब्याटिङमा हो। पछिल्लोपटक मे २०२५ मा थाइल्यान्डको ब्यांककमा भएको महिला विश्वकपको एसिया छनोटमा पनि यो उजागर भएको थियो। तर, प्रतियोगिता सकिएको नौ महिना भइसक्दा पनि नेपालले समस्या निराकरण गर्न सकेको देखिँदैन।

उक्त प्रतियोगिताका प्रायः खेल वर्षाले बिथोल्दा नेपालले ब्याटिङमा अवसर नै देखाउन पाएन। पाएको अवसरमा पनि प्रदर्शन स्थिर थिएन। जस्तो, फाइनलमा थाइल्यान्डविरुद्ध १५९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८० रन मात्रै बनाएको थियो।

अहिलेको अभ्यास खेलमा पनि सम्झनाकुमारी खड्कालाई अपवाद मान्ने हो भने नेपालको ‘टप अर्डर’ निरन्तर असफल देखिएको छ। अमेरिकासँग पहिलो अभ्यास खेलमा एक रनमै आउट भएकी खड्काले त्यसपछि सोही टोलीको दोस्रो खेलमा ५४ रन बनाएकी थिइन्। स्कटल्यान्डसँग अविजित ५२ रन प्रहार गरेकी उनी अमेरिकासँगको अन्तिम अभ्यास खेलमा अर्धशतकबाट एक रनले चुकिन्। टी-२० यस्तो फर्म्याट हो जसले आक्रामकसँगै विवेकपूर्ण प्रदर्शन माग गर्छ। तर, नेपाली ब्याटर कि त अत्यधिक रक्षात्मक खेल्छन् कि त जिम्मेवारहीन सट खेल्दै विकेट सुम्पिन्छन्। उपकप्तान महतो नै पछिल्ला चारमध्ये तीन खेलमा क्याच आउट भएकी छन्। अमेरिकासँगको पहिलो खेलमा ४८ रन बनाउनुबाहेक उनको प्रदर्शन घतलाग्दो भएन। भर भएन बलिङ

अभ्यास तथा वार्मअप खेलहरूले अहिले नेपाली टोलीको बलिङ पनि भरपर्दो नभएको देखाउँछन्।

रुविना र सीता रानामगरजस्ता अनुभवी नेपाली स्पिनरहरूले बेलाबेला दबाब कायम गरे पनि लगत्तै अर्को ओभरमा क्रमभंग भइहाल्ने गरेको छ। जसले विपक्षीलाई रन बनाउन मौका दिने गरेको छ। त्यसमाथि पेस बलिङको जिम्मेवारी पाएका सुमन विष्ट र कविता कुँवर डेथ ओभरमा लाइन र लेन्थमा चुकिरहेका छन्। १५ ओभर बलिङ गर्दा सुमनले १२० रन खर्चिएर केवल दुई विकेट लिएकी छन्। १४.२ ओभर बलिङ गरेकी कविताले १०९ रन खर्चिएकी छन्।

यी कमजोरी क्वालिफायरमा महँगो साबित हुन सक्छन्। टी-२० यस्तो फर्म्याट हो जहाँ एक ओभरको प्रदर्शनले नै पासा पल्टिन सक्छ। तर, नेपाली टोलीले ‘पासा पल्टाउन’ सकिने अन्तिमको चारपाँच ओभरमै खेलमा पकड गुमाइरहेको देखिन्छ। अमेरिकासँगको पहिलो अभ्यास खेलको अन्तिम ओभरमा १८ रन खर्चिएकै कारण १३९ रनको लक्ष्य पछ्याउन पनि नेपालले अन्तिम बलसम्म कुर्नुपरेको थियो।

अर्कातर्फ, आयरल्यान्डसँगको खेलमा बाहेक नेपालले डेथ ओभरमा ३० भन्दा बढी रन खर्च गरेको तथ्यले पनि टिमको यो कमजोरीलाई उदांग पार्छ।

तर, नेपाली टोलीकी कप्तान इन्दु बर्मा अभ्यास खेलमा प्रदर्शन कस्तो रह्यो भन्दा पनि प्रतियोगितामा कस्तो हुनेछ भन्ने कुराले अर्थ राख्ने बताउँछिन्। “जुन दिन म्याच हुन्छ, त्यो दिन राम्रो क्रिकेट खेल्छौँ भन्ने भाव राखेका छौँ,” उनी भन्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *