एजेन्सी: सिन्धुपाल्चोकका स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउन सकिरहेका छैनन् । स्थानीय तहले नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा) को ठेक्का लगाउन पटकपटक बोलपत्र आह्वानको सूचना प्रकाशित गरे पनि ठेक्का सम्झौता हुन सकेको छैन । चालु आर्थिक वर्ष सुरु भएको करिब चार महिना पुगिसक्दासमेत १२ स्थानीय तहमध्ये तीनको मात्रै ठेक्का लागेको छ । मेलम्ची नगरपालिका, बाह्रबिसे र बलेफी गाउँपालिकाले ठेक्का लगाएका हुन् । मेलम्ची, चौतारा साँगाचोकगढी र बाह्रबिसे नगरपालिका तथा ईन्द्रावती, त्रिपुरासुन्दरी, सुनकोसी र बलेफी गाउँपालिकाले ईन्द्रावती र भोटेकोसी नदीबाट नदीजन्य सामग्री उत्खनन गर्दा सोबापत कर सङ्कलन गर्ने गरेको थियो । पटकपटक सूचना प्रकाशित गरे पनि चालु आवमा ठेक्का नलागेको ती स्थानीय तहले जानकारी दिएका छन् । बाह्रबिसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी शर्माका अनुसार दुईवर्ष अघि सुनकोशी नदी क्षेत्रको बाह्रबिसेबाट जुरेसम्मको क्षेत्रमा नदीजन्य पदार्थ उत्खननबापत रु एक करोडमा ठेक्का आह्वान गरिएको थियो । यस वर्षका लागि पुलबाट तल्लो खण्डमा भ्याटबाहेक ७५ लाख र माथिल्लो खण्डमा रु २८ लाख गरी जम्मा रु एक करोड तीन लाखमा ठेक्का लागेको उनले जानकारी दिए । गत वर्षको तुलनामा प्रतिघनफिट दुई घटाएर ठेक्का आह्वान गरिएको शर्माले उल्लेख गरे। बलेफी गाउँपालिकामा गत वर्ष ठेक्का नलागेकामा यस वर्ष स्थानीय सुनिलकुमार श्रेष्ठ, श्रेष्ठ कन्ट्रक्सनको नाममा २६ लाखमा ठेक्का परेको छ । बाह्र स्थानीय तहमध्ये सबैभन्दा बढी नदीजन्य पदार्थबाट राजस्व सङ्कलन गर्ने मेलम्ची नगरपालिकामा पनि गत वर्षभन्दा १० करोड कम हुने गरी ठेक्का लागेको राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिए । उनका अनुसार रु २३ करोड ५२ लाखमा सुदिपा ट्रेनिङ प्रालिलाई उक्त ठेक्का परेको हो । नगरपालिकाले गत वर्ष रु ३३ करोडमा प्रतिघनफिट रु नौ का दरले ठेक्का परेकामा चालु आवमा रु दुई घटाउँदा करिब रु १० करोड नोक्सानी भएको राजस्व शाखा प्रमुख दुलालले बताए ।