मिरिक महकुमाअन्तर्गत मरमा प्रेमसुन्दर उच्च माद्यमिक विद्यालय अनि थर्बु उच्च माध्यमिक विद्यालयमा स्मार्ट क्लास आरम्भ भएको छ। दुवै विद्यालयको सञ्चालन समितिका अध्यक्ष एवं मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेश राईले स्मार्ट क्लासको विधिवत उद्घाटन गरे।
यस अवसरमा मरमा प्रेम सुन्दर उमाविका शिक्षक प्रभारी राजेश्वर राई, थर्बु उमाविका शिक्षक प्रभारी मणिकुमार प्रधान, शिक्षक-शिक्षिका अनि विद्यार्थीहरूको उपस्थिति रहेको थियो। आधुनिक विद्यार्थीहरूलाई किताबी ज्ञानसितै डिजिटल शिक्षा प्रदान गर्ने उदेश्यमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन शिक्षा विभागले आवश्यक सामग्रीहरू उपलब्ध गरिदिएपछि स्मार्ट क्लासको उद्घाटन गरिएको हो।
यस अवसरमा बोल्दै विद्यालय सञ्चालन समितिका अध्यक्ष एवं सभासद मिलेस राईले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाको पहलमा जीटीए क्षेत्रको शैक्षिक विकासमा महत्त्वपूर्ण कार्यहरू भइरहेको बताए। यसै क्रममा मरमा प्रेमसुन्दर उमावि अनि थर्बु उमाविमा स्मार्ट क्लास आरम्भ गरिएको जसले विद्यार्थीहरूलाई आधुनिक गुणस्तरीय शिक्षा आर्जन गर्न सहयोग पुग्ने तिनले बताए। विद्यालयमा स्मार्ट क्लास सञ्चालनको व्यवस्था गरिदिए बापद मरमा प्रेम सुन्दर उमाविका शिक्षक प्रभारी राजेश्वर राई अनि थर्बु उमाविका शिक्षक प्रभारी मणिकुमार प्रधानले जीटीए प्रमुख अनित थापा, सभासद मिलेस राई अनि विभागीय अधिकारीहरूप्रति आभार प्रकट गरेका छन्।