लगातार वर्षापछि कालेबुङ जिल्लाको तारखोलास्थित 10 माइल क्षेत्रमा पैह्रो गएको छ। त्यसकारण 10 नम्बर राष्ट्रिय राजमार्गमा वाहनहरूको आवागमन पूर्ण रूपले बन्द भएको छ। यस राजमार्गलाई पश्चिम बङ्गाल अनि सिक्किमको जीवन रेखा मानिन्छ। पैह्रोका कारण धेरै यात्री, पर्यटक अनि मालवाहक वाहनका चालकहरू समस्यामा परेका छन्।
स्थानीय सूत्रअनुसार अधिक वर्षापछि सोमवार राति अबेर पहाड़बाट ठूल्ठूला ढुङ्गा अनि माटो सड़कमाथि खसेको थियो। त्यसकारण बिहानदेखि उक्त सड़क खण्डमा सबै किसिमका वाहनहरूको आवगमन पूर्ण रूपले बन्द भयो। सड़कमा धेरै वाहनहरू अहिले पनि रोकिएका छन्। सिलगढ़ीदेखि गान्तोकसम्म यात्रा गर्ने हजारौँ यात्री तथा मालवाहक ट्रकहरू यस सड़कमाथि निर्भर छन्। तत्काल सड़क खोलाउन नसके दुई राज्यबीच सम्पर्क लगभग पूर्ण रूपले विच्छिन्न हुने आशङ्का व्यक्त गरिएको छ।
प्रशासनको तर्फबाट सड़क खोलाउने कार्य आरम्भ भइसकेको छ। सार्वजनिक निर्माण विभागका इञ्जिनियरहरू र विपद व्यवस्थापन विभागका कर्मचारीहरूको एक टोली घटनास्थलमा पठाइएको छ। तर भीषण वर्षाका कारण पुनर्स्थापनाको कार्यमा विलम्ब भइरहेको प्रशासन सूत्रले जानकारी गराएको छ। परिस्थितिमाथि निगरानी राखिएको छ अनि आवश्यक परे वैकल्पिक मार्गबाट वाहनहरू चलाउने निर्देशन दिन सकिने जनाइएको छ।
