चार तले भवनको छानामा अवैध रूपमा मोबाइल टावर जड़ान गर्न खोजिएको भन्दै स्थानीय मानिसहरूले विरोध जनाएपछि नक्सलबारीमा तनाउ सिर्जना भएको छ। स्थानीयहरूअनुसार कुनै आधिकारिक अनुमतिबिना नै टावर जड़ानको कार्य आरम्भ गरिएको थियो। पूर्व बाबुपाड़ा क्षेत्रमा यो घटना भएको हो जहाँ स्थानीयहरूले नजिकै नै पहिलेबाट मोबाइल टावर रहेको भए पनि राति गोप्य रूपमा अर्को टावर राख्न खोजिएको बताएका छन्।
स्वास्थ्यमाथि पर्न सक्ने जोखिम र कानूनी उल्लङ्घनको चिन्तामा स्थानीय मानिसहरूले नक्सलबारी ग्राम पञ्चायत, बीडीओ कार्यालय र स्थानीय पुलिस चौकीमा उजुरी दिँदै तत्काल टावरको निर्माण कार्य रोक्ने माग गरेका छन्।
आइतवार राति ठेकेदार कम्पनीका प्रतिनिधिहरू काम अगाड़ि बढ़ाउन आएपछि तिनीहरूले स्थानीय मानिसहरूको कठोर विरोधको सामना गर्नु पर्योु। अन्ततः तिनीहरू निर्माण स्थल छोड्न बाध्य बने। यस घटनाले क्षेत्रमा तनाउग्रस्त स्थिति सिर्जना भयो। त्यसकारण नक्सलबारी पुलिस चौकीबाट पुलिस टोली घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लियो।
