उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालबाट हटाइएको बजार फेरि बसिरहेको छ। आगामी विधानसभा चुनाउलाई ध्यानमा राख्दै भोट ब्याङ्क सुरक्षित गर्नकै लागि सत्तारूढ़ पार्टीले यस्तो निर्णय लिएको आरोप उठेको छ। बुधवार मेडिकल कलेजमा प्रशासनिक अधिकारीहरू अनि जनप्रतिनिधिहरूसित भएको बैठकपछि रोगी कल्याण समितिले बजार पुनः बसाल्ने निर्णय लिएको हो। यस निर्णयले चिकित्सक समुदायमा तीव्र असन्तोष सिर्जना गरेको छ।
चिकित्सकहरूले यस निर्णयलाई तुघलगी कदम भनेर आलोचना गरेका छन्। तिनीहरूको भनाइअनुसार नेशनल मेडिकल कमिशनले बारम्बार मेडिकल कलेज परिसरमा अनाधिकृत रूपमा विकास हुँदै गइरहेको बजारबारे प्रश्न उठाउँदै आएको थियो। यदि त्यो बजार नहटाइए मेडिकल कलेजलाई डाक्टर भर्ना गर्नका लागि दिइने अनुमति रद्द गरिने एनएमसीले चेताउनी दिएको थियो। ढिलो भए पनि केही महीनाअघि उक्त बजार हटाइएको थियो।
तर अहिले प्रशासनिक संरक्षणमा फेरि मेडिकल कलेजको क्याम्पसभित्र बजार बसालिँदैछ। चिकित्सकहरूको भनाइअनुसार यो न केवल अवैधानिक हो बरु यसले जोखिम बढ़ाउनेछ।
