वर्तमान समयमा सरकारी प्राथमिक विद्यालयहरूमा विद्यार्थीहरूको सङ्ख्या दिन प्रतिदिन घट्दै गइरहेको छ। त्यही परिस्थितिमा ठ्याक्कै विपरीत दृश्य मटेली ब्लकको विधाननगर ग्राम पञ्चायतअन्तर्गत कलाबारी प्राथमिक विद्यालयमा देख्न सकिन्छ। हाल यस विद्यालयमा पाँचवटा कक्षासहित जम्मा 189 जना विद्यार्थीहरू अध्ययनरत छन्। यसअघि विद्यालयले 2015 मा निर्मल विद्यालय पुरस्कार र 2017 मा शिशु मित्र पुरस्कार प्राप्त गरिसकेको छ। आगामी दिन विद्यालयलाई यामिनी राय पुरस्कार दिलाउने लक्ष्यसहित शिक्षक-शिक्षिकाहरू अघि बढ़िरहेका छन्। एक अत्याधुनिक विद्यालयमा आवश्यक पर्ने सबैजसो सुविधाहरू यहाँ उपलब्ध छन्। आवश्यक स्मार्ट कक्षा, सांस्कृतिक कोठा, पुस्तकालय तथा विद्यार्थीहरूको मध्यान्ह भोजन खानका लागि डाइनिङ हलसमेत विद्यालयमा छ। साथै विद्यालयलाई विद्यार्थीहरूका लागि अझ आकर्षक बनाउन फूल बघैँचा निर्माण गरिएको छ। कक्षा कोठाको पर्खालभरि विभिन्न महान व्यक्तिहरूका प्रेरणादायी भनाइहरू लेखिएका छन्। यीमध्ये अधिकांश कार्य शिक्षक-शिक्षिकाहरूको व्यक्तिगत पहलमा गरिएको हो। हाल विद्यालयमा सातजना स्थायी शिक्षक र एकजना प्यारा शिक्षक छन्। शिक्षक-शिक्षिकाहरूको आर्थिक योगदानबाट विद्यालयमा कोष स्थापना गरिएको छ जसको सहायताले विद्यालयको विभिन्न विकासका कार्यहरू सम्पन्न गरिन्छ।
तर पुरस्कार प्राप्त यो विद्यालय अहिले पनि खानेपानी लगायतका विभिन्न समस्याहरूसित जुझिरहेको छ। सन् 2018 मा जलपाइगढ़ी जिल्ला परिषदबाट विद्यालयमा सोलार प्रणालीद्वारा सञ्चालन हुने पानी आपूर्ति परियोजना निर्माण गरिए पनि लामो समयदेखि प्रणाली बिग्रिएको अवस्थामा छ। त्यसकारण मध्यान्ह भोजन पकाउने कार्यदेखि लिएर शौचालयमा पानीको अभाव देखिएको छ। हाल कुवाको पानी प्रयोग गरेर मध्यान्ह भोजन पकाउने तथा अन्य कार्यहरू गरिँदै आएको छ। साथै कक्षा कोठाहरूको पनि मरम्मती आवश्यक छ। विद्यालय प्रशासनले यी सम्पूर्ण समस्याहरूबारे ब्लक प्रशासनलाई जानकारी गराइसकेको छ। तथापि सबै अवरोधहरू पार गर्दै विद्यालयले आगामी दिन यामिनी राय पुरस्कार प्राप्त गर्ने शिक्षक-शिक्षिकाहरू आशावादी छन्।
विद्यालयका प्रधानाध्यापक रतन बनियाँले भने, ‘हामी यामिनी राय पुरस्कार प्राप्त गर्ने लक्ष्यतर्फ अघि बढ़िरहेका छौँ। विद्यालयको विकासका लागि सबै शिक्षक-शिक्षिका मिलेर कार्य गरिरहेका छौँ। विद्यालयमा पानीको समस्याबारे ग्राम पञ्चायत तथा ब्लक प्रशासनलाई लिखित रूपमा जानकारी गराइसकेका छौँ।’ यस सम्बन्धमा विधाननगर ग्राम पञ्चायतकी प्रमुख ताजमिनारा बेगमले भनिन्, ‘विद्यालयमा पानीको समस्या रहेको जानकारी शिक्षक-शिक्षिकाहरूले दिएका छन्। यसको समाधानका लागि प्रयास भइरहेको छ।’ मटेली ब्लकका उप-विद्यालय निरीक्षक विजय चन्द्र रायले भने, ‘यस विद्यालयका शिक्षक-शिक्षिकाहरूको यो पहल सराहनीय छ। म तिनीहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु।
