मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा कालचिनीको सुभाषिणी चियाबारीमा आयोजन हुने सरकारी कार्यक्रममा जोन बारला उपस्थित हुने जानकारी पाइएको छ। आगामी 23 जनवरी उक्त कार्यक्रम हुनेछ। हाल जोन बारला पत्नीको उपचारका लागि दिल्लीमा छन्। सोमवार फोनमा तिनले भने, अलिपुरद्वार जिल्ला प्रशासनको तर्फबाट उक्त सरकारी कार्यक्रममा उपस्थित हुने निमन्त्रणा आएको छ। मुख्यमन्त्री स्वयं त्यहाँ हुनेछन्। त्यसैले पक्कै जानेछु। मुख्यमन्त्रीसमक्ष चिया मजदुरहरूको पीएफ, ग्र्याचुटी, जमीनको पट्टा लगायत विभिन्न मुद्दा र विकासका विषयहरू राख्नेछु। तर के पूर्व सांसद जोन बारलाले भाजपा छोड्दैछन्? यस प्रश्नको प्रत्यक्ष उत्तर बारलाले दिएका छैनन्। केही रहस्य बनाउँदै तिनले भने, यो त कुनै पार्टीको कार्यक्रम होइन। सरकारी कार्यक्रम हो। मेरो टोली छ। जे गर्नुपर्छ तिनीहरूसित परामर्श गरेर गर्नेछु। यद्यपि बारलाको मतमा भाजपाले आदिवासीहरूसित छल गरेको छ अनि आदिवासीहरूलाई केवल प्रयोग गरेको छ।
चिया मजदुरहरूलाई ठगेको छ। भाजपाका अलिपुरद्वारका वर्तमान सांसद मनोज तिग्गाले भने, को कुन कार्यक्रममा वा सभामा सहभागी हुने त्यो त तिनको निजी विषय हो। तर भाजपाले जोन बारलालाई छोटो समयमा नै जसरी अखिल भारतीय स्तरमा परिचय दियो त्यो अरू कुनै पार्टीमा कल्पना बाहिरको कुरा हो। तिनले नबुझे हामीले के गर्न सक्छौँ। वास्तवमा यसपल्ट चुनाउमा टिकट नपाउँदा तिनी यसरी असन्तुष्ट भएका हुन्। मान्छेले सबै बुझ्छन्। राज्यका पछाड़िएका वर्ग कल्याण तथा आदिवासी विकासमन्त्री बुलु चिकबराइकले भने, जोन बारला तृणमूलमा सामेल हुने हुन् कि होइनन्, मलाई थाहा छैन। तर यो कुरा निश्चित रूपमा भन्न सक्छु मुख्यमन्त्री ममता ब्यानर्जीले आदिवासी समाजसेवीहरूलाई सधैँ उच्च सम्मान दिँदै आएक छन्। बारला सरकारी कार्यक्रममा आउन सक्छन्। यो त राम्रो कुरा हो।
मुख्यमन्त्रीको सरकारी कार्यक्रममा सहभागी हुन जोन बारला 22 जनवरी दिल्लीदेखिट आफ्नो लक्ष्मीपाड़ा चियाबारीको घरमा आउनेछन्। 23 जनवरी कार्यक्रममा सहभागी भएर 24 तारिख फेरि दिल्ली फर्कनेछन्। 22 तारिख आफ्ना समर्थकहरूसित छलफल गर्ने योजना रहेको छ। तिनले भने, जनता विकास चाहन्छन्। तिनीहरूको साथमा उभिनु हामी सबैको कर्तव्य हो। दिल्लीबाट त डुवर्स चियाबारीका लागि कुनै बजेट आएको छैन। जे गर्ने राज्यले नै गरिरहेको छ। साथै म खाली बस्ने मान्छे होइन। जनता मेरो साथमा छन्। काम त गर्नैपर्छ। भाजपाप्रति असन्तुष्टि पोख्दै तिनले थपे, त्यस पार्टीको झण्डा चियाबारीमा हाम्रो टोलीले नै गाड़ेको हो। जनता हामीलाई नै चिन्छन्। अरूलाई टिकट दिएर अहिले मलाई साइडलाइनमा राखिएको छ। अझ एक कदम अघि बढ्दै तिनले भने, राज्यमन्त्री हुँदा अलिपुरद्वारमा रेलको अस्पताल निर्माणको सबै तयारी पूरा गर्दा पनि भाजपाको एक अंशले त्यो रोकिदियो। जनताले यी सबै कुरालाई राम्ररी लिएका छैनन्। त्यसैले अहिले तिनीहरूलाई साथ दिने कोही छैन। स्वाभाविक रूपमा जोन बारला तृणमूलमा सामेल हुने डुवर्सको राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ।