खोरीबारीमा विदेशी मदिरा जफत

पश्चिम बङ्गालदेखि बिहारतर्फ मदिरा तस्करी गरेर ठूलो नाफा कमाउन सक्रिय छन् धेरै तस्कर समूहहरू। बिहारमा मदिरा तस्करीको मुख्य मार्गहरूमध्ये एक हो खोरीबारीको बङ्गाल–बिहार सीमास्थित चेक्करमारी सीमा क्षेत्र। रातको अन्धकारमा विलासी सानो वाहनमार्फत बिहारमा मदिरा तस्करीको योजनालाई विफल बनाइदिएको छ खोरीबारी पुलिसले।

खोरीबारी पुलिसले लाखौँ रुपियाँ बराबरको विदेशी मदिरा जफत गरेको छ। यद्यपि वाहन चालक भने सुइँकुच्चा ठोक्न सफल भएको छ। मङ्गलवार राति खोरीबारी-भालुगडारा राज्य सड़क भएर बिहारतर्फ गइरहेको एउटा सानो वाहनलाई खोरीबारी थाना पुलिसले रोकेको थियो। चेकजाँच गर्दा मौका छोपी वाहन चालकले सुइँकुच्चा ठोक्यो। तर तलासी गर्दा गाड़ीमा ठूलो परिमाणमा विदेशी मदिरा फेला पऱ्यो।

पुलिस सूत्रअनुसार सिलगढ़ीदेखि बिहारमा मदिरा तस्करीको योजना बनाइएको थियो। गोप्य सूचनाका आधारमा पुलिसले यो अभियान चलाएको थियो। नियन्त्रणमा लिइएको गाड़ीलाई खोरीबारी थानामा ल्याइएको छ। सुइँकुच्चा ठोक्ने वाहन चालकको खोजी जारी राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *