‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो

एजेन्सी: मंगला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो।

हालै भित्र्याएको धान कुटेर तीन मुरी चामल ग्राहकलाई बेचिसकेका सापकोटालाई गौरिया धानको चामलको लागि दैनिक दुईरतीन जनाले फोन गर्छन्।
‘२५–३० मुरी धानले घरमा खान, आफन्तलाई कोशेली पठाउन र नियमित ग्राहाकलाई चामल पुर्‍याउन ठिक्क हुन्छ,’ उनले भने, ‘उत्पादन गर्न सके बजारको समस्या नभएको गौरिया धान खेतीनै घट्दै गएको छ।’

पकाउँदा घरबाहिरै छुट्टै किसिमको मगमग बास्दा आउने र खाँदा स्वादिलो हुने म्याग्दीको रैथाने गौरिया धानको चामलको माग बढेपनि खेती घट्दै गएको छ।

सहर बजारका तारे होटलदेखि घरानीया ब्यापारी, उच्च तहका नेता, कर्मचारीहरु गौरिया धानको चामलका उपभोक्ता भएका मङ्गला –५ छिसवाङका दुर्गाबहादुर खत्रीले बताए।

गौरिया धान पाक्दा खेतनै बसाउँछ । भान्छा कोठामा गौरीयाको भात पकाउदा आगनसम्मै बास्ना आउँछ,’ ६८ वर्षीय खत्रीले भने, ‘गौरियाको भात खाइरहेकालाई अन्य धानको भात रुच्दैन । गौरियानै खोज्छन्।’

गौरिया म्याग्दीको खोप्ती, छिसवाङ, रणवाङ, पिपलबोट, कुरसिम्ला, शेराफाट, तल्लो पोक, बाबियाचौर, सिम, सिमलचौर क्षेत्रमा खेती हुने रैथाने जातको धानबाली हो । स्थानीयबासीहरुका अनुसार चार पुस्ता अघिदेखि खेती हुदै आएको गौरियाको वैज्ञानिक र अंग्रेजी नाम अझै पहिचान भएको छैन।

म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरिखेतमा खेती हुने भएकाले गौरिया नाम राखिएको पिपलबोटका छवीलाल कडेल बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *