गर्मी बिदा बढ़ाउने मागमा बङ्गीय हिन्दू महामञ्चको ज्ञापन

उत्तर बङ्गालभरि अहिले तीव्र गर्मीको प्रकोप चलिरहेको छ। प्रचण्ड गर्मीको कारण विद्यालयका बालक-बालिकाहरूदेखि वृद्धसम्म सबै हैरान छन्। यसैबीच विद्यालयहरूको गर्मी बिदा सकिएर गत 2 जूनदेखि सरकारी विद्यालयहरू खोलिएका छन्। तर यता लगातार गर्मी बढ़िरहेको कारण विद्यालय जानुपर्ने विद्यार्थीहरू समस्यामा परेका छन्। यस्तो अवस्थामा गर्मी बिदा बढ़ाउने माग गर्दै सिलगढ़ी डीआई कार्यालयमा पुगेर बङ्गीय हिन्दू महामञ्चले ज्ञापन बुझाएको छ।

उत्तर बङ्गालका सबै विद्यालयमा गर्मी बिदा बढ़ाउनुपर्ने माग गरिएको छ। प्रत्येक वर्ष जसरी गर्मी लगातार बढ़िरहेको छ त्यसअनुसार तोकिएको समयमा नै विद्यालय सञ्चालन गर्दा विद्यार्थीहरूलाई धेरै कठिनाइ हुने बङ्गीय हिन्दू महामञ्च सङ्गठनका तर्फबाट भनिएको छ। त्यसैले वर्तमान गर्मीको परिस्थितिलाई ध्यानमा राखेर केही दिनको अतिरिक्त बिदा आवश्यक रहेको सङ्गठनको भनाइ छ। यदि आवश्यक व्यवस्था नगरिए लुको कारण विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर प्रभाव पर्न सक्ने सङ्गठनका सदस्यहरूले बताए।

दुई तीनदेखि लगातार गर्मीको प्रकोप बढ़िरहेको भए पनि बुधवार बङ्गीय हिन्दू महामञ्चले डीआईलाई गर्मीको बिदा बढ़ाउनुपर्ने मागमा ज्ञापन चढ़ाएकै केही समयपछि पटक-पटक वृष्टिपात भएको छ। बुधवार अपराह्नपछि सिलगढ़ी शहरलगायत उत्तर बङ्गालका केही स्थानहरूमा वर्षा आरम्भ भयो। बुधवार दिउँसो लगभग 1.30 बजी केही समयका लागि वर्षा भएको थियो। फेरि केही समयका लागि गर्मी बढ्ने देखिए पनि लगभग 3.15 देखि पुनः भएको वृष्टिपातले गर्मीको प्रकोपलाई न्यून पारेर केही राहत दिएको छ। यस्तो स्थितिमा गर्मी बिदा बढ़ाउनुपर्ने बङ्गीय हिन्दू महामञ्चको मागलाई कति न्यायोचित मान्नुपर्ने? त्यो प्रश्न पनि उठेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *