उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा अमानवीय घटना प्रकाशमा आएको छ। मेडिकल कलेजको करिडोरमा रहेको शव कुकुरले चिथोरेर खाएको देखिएपछि अस्पतालको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। मृत व्यक्तिको परिचय अझै पाउन सकिएको छैन। यसबारे जाँच हुने आश्वासन अस्पतालका सुपर डा. सञ्जय मल्लिकले दिएका छन्।
प्राप्त जानकारीअनुसार अस्पतालको अन्कोलोजी विभागनजिक करिडोरमा एकजना व्यक्ति सुतेका थिए। धेरैजसो मानिसहरूले होटलमा बस्न नसक्दा मेडिकल कलेजकै करिडोरमा रात कटाउने गर्छन्। उक्त व्यक्तिको निद्रामै मृत्यु भएको अनुमान गरिएको छ। बिहीबार बिहान सड़कका भुस्याहा कुकुरहरूले तिनको शव चिथोरेर खाँदै गरेको देखेपछि होहल्ला मच्चिएको हो।
घटनाको जानकारी पाएपछि बिहीवार बिहान स्वास्थ्यकर्मीहरूले शवलाई त्यहाँबाट हटाएर मर्गमा राखेका छन्। यद्यपि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा यस किसिमको घटना नयाँ होइन। सन् 2022 को 30 मईमा उपचारका लागि आएको घाइते बिरामीको काटिएको हात कुकुरले मुखमा बोकेर घुमेको घटना त्यहाँ देखिएको थियो। बिहीवारको घटनापछि फेरि अस्पताल परिसरमा होहल्ला आरम्भ भएको छ।
अस्पताल परिसरमा बटुवा अनि सड़कका फुस्याहा कुकुरको समस्याले अस्पताल व्यवस्थापन लामो समयदेखि हैरान रहेको मेडिकल कलेजका कार्यवाहक प्रिन्सिपल तथा सुपर डा. सञ्जय मल्लिकले बताए। तिनले भने, के भएको हो भन्नेबारे सुरक्षा गार्डहरूसित जानकारी लिइरहेका छौँ। हामीले पहिल्यै पशुपालन विभागलाई सड़क कुकुरका लागि केही उपाय गर्न अनुरोध गरेका थियौँ तर अहिलेसम्म केही गरिएको छैन। यसबारे स्वास्थ्य विभागमा प्रतिवेदन प्रस्तुत गर्नेछु।
अस्पताल आएका बिरामीका आफन्तहरूअनुसार अस्पताल परिसरमा बेला–बेलामा बटुवा देखिने गर्छन्। कतिपय त रातभर करिडोरमै सुतेका पनि देखिन्छन्। बिरामीका आफन्तहरूले तिनीहरूलाई खाना दिएर सहयोग गर्ने गरेका बताइएको छ। त्यस्तै कोही व्यक्ति बुधवार राति अन्कोलोजी विभागनजिक करिडोरमा सुतेका थिए भन्ने अनुमान गरिएको छ।