मधेश प्रदेश कृषि विश्वविद्यालय राजविराज र अमेरिकन संस्था पिस कोरबीच शैक्षिक सम्झौता भएको छ । राजविराजमा आयोजित कार्यक्रममा प्रदेशका अर्थमन्त्री युवराज भट्टराईको उपस्थितिमा विश्वविद्यालयको तर्फबाट उपकुलपति डा. वैधनाथ महतो र कोरका तर्फबाट नेपालका राष्ट्रिय निर्देशक डा. किम नजबुल्लाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
शैक्षिक अनुसन्धान तथा साँस्कृतिक विकासका लागि दुवै संस्थाबीच उक्त सम्झौतापत्र हस्ताक्षर भएको हो । उक्त अवसरमा अर्थमन्त्री भट्टराईले मधेश विश्वविद्यालय र पिस कोरबीच भएको सम्झौता भविष्यमा कोसेढुंगा साबित हुने बताए । उनले नेपालमा पिस कोरको लामो इतिहास रहेको र यसले कृषि र शैक्षिक अवस्था परिवर्तनमा सकारात्मक भूमिका निर्वाह हुने बताए ।
कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरले समझदारी कार्यान्वयनपश्चात् विश्वविद्यालयको शैक्षिक गुणस्तर, अनुसन्धान, सिप विकास तथा सूचना प्रविधि विस्तारका साथै परियोजना तयार कार्यान्वयन एवं मूल्याङ्कनमा निरन्तर सहयोग रहने जानकारी दिए ।
सामारोहमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी एवं पिस कोर नेपालका कार्यक्रम व्यवस्थापक, स्वयंसेवक लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।
