बुढीगण्डकी बाढीले बाटो क्षतिग्रस्त बनाएपछि धार्चे गाउँपालिकाका स्थानीय बासिन्दा वैकल्पिक बाटो निर्माणमा कस्सिएका छन् । धार्चे–३ को खोर्लाबेंसीदेखि लुस्याङसम्म वैकल्पिक बाटो बनाउन रुन्चेत र खोर्लाबेंसीका स्थानीय बुधबार खटिएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । ‘स्थानीय युवा, गाउँले र वाईसीएलको टोली गरी एक सयजति बाटो निर्माणमा खटिनुभयो,’ उनले भने ।
खोर्लाबेंसीमा बाटो अवरुद्ध हुँदा धार्चेका तीनवटा वडा र चुमनुब्री गाउँपालिका पैदलमार्गबाट समेत विच्छेद भएका छन् । ‘खोर्लाबेंसी र तातोपानीबीच कटान भएको भागभन्दा माथि अप्ठ्यारो भिरमा एक सय मिटरजति काठको भर्याङ राखेका छौँ । सय मिटरजति डोरी राखेर वैकल्पिक बाटो भिरबाट बनायौँ,’ उनले भने, ‘यो वैकल्पिक बाटो बनेपछि रुन्चेत, उहिया र हुल्चोकका स्थानीयलाई गाउँसम्म हिँडेर पुग्न सहज हुन्छ ।’
गाउँपालिकाको समन्वयमा गाउँलेहरू कुटो, कोदालो र गैँती लिएर बाटो निर्माणमा कस्सिएका हुन् । ‘खोर्लाबेंसी र तातोपानीबीचको बाटोमा बुढीगण्डकी बगेको छ । माथि भिरबाट बाटो बनाउनुको विकल्प छैन,’ उनले भने, ‘भिरमा खोस्रिएर जसोतसो बाटो बनाएका छौँ ।’
खोर्लाबेंसी डम्पिङ साइटमाथिको तीन सय मिटरजति उकालो बाटोमा काठ र ढुंगा राखेर बाटो बनाइएको उनले बताए । ‘आज यो बाटो बनेपछि एक सय जना स्थानीय यहाँबाट गाउँतर्फ गएका छन्,’ उनले भने, ‘यो बलजफ्ती खोलेको बाटो भएकाले बालबालिका र वृद्धवृद्धालाई हिँड्न अझै गाह्रो छ । भोलि बाटो अझ सहज बनाउने प्रयास गर्छौँ ।’
तातोपानी र खोर्लाबेंसीबीचको डम्पिङ साइटमा भित्ता छोएर सय मिटरजति सडक कटान भएको उनले बताए । ‘डम्पिङ साइटमा बुढीगण्डकीले कटान गरेको सडक खोल्न ब्लास्टिङ गर्नुको विकल्प छैन,’ उनले भने, ‘यो स्थानीय सरकारबाट सम्भव छैन । सम्बन्धित निकायलाई पनि बाटो खोल्न भनेका छौँ ।’
