फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ।
सुरुमा छ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो।
फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान सुरुआतमै उत्साहजनक रहेपछि फ्लाई दुबईले बुकिङ अवधि बढाएको बताए।
उनले भने, “आगामी वर्षसम्मका लागि बुकिङ खुला भएपछि उडान नियमित सञ्चालन हुनेमा विश्वास थप बढेको छ, यो पोखराका पर्यटन व्यवसायीलगायत सबैका लागि सुखद् विषय हो।”
चाडबाडको समय भएकाले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जानेको सङ्ख्या केही कम रहेको छ। चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको सङ्ख्या बढ्ने पर्यटन व्यवसायी श्रेष्ठले बताए।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षसमेत रहेका उनले फ्लाई दुबईको उडानलाई सफल बनाउन सबैपक्षको सहयोग र सहकार्यको खाँचो रहेको बताए।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले असोज ७ गतेयता मौसम खराबीका कारण फ्लाई दुबईको एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको बताए।
फ्लाई दुबईको उडान तालिका अनुसार जहाज हरेक दिन साँझ ६स्१५ बजे पोखरा अवतरण र साँझ ७स्१५ बजे दुबई प्रस्थान गर्दै आएको छ।
गत सोमबारसम्ममा फ्लाई दुबईको उडानमार्फत तीन हजार ११३ यात्रु दुबईबाट पोखरा आएको र पोखराबाट एक हजार ४२३ यात्रु दुबई प्रस्थान गरेको जनाइएको छ।
फ्लाई दुबईको उडानलाई प्रभावकारी बनाउन लागिपरेका पोखराका पर्यटन व्यवसायीलगायत सम्बद्ध पक्ष उडान दिगो हुनेमा विश्वस्तसँगै उत्साहित रहेको पाइएको छ।
टिकट बुकिङ उत्साहजनक रहेपछि टुर्स एण्ड ट्राभल्स व्यवसायीमा पनि उडान नियमित हुनेमा आशा जागेको छ। यस उडानबाट आउने यात्रुलाई लक्षित गरी होटल, रेष्टुराले विभिन्न सहुलियत योजना ल्याएका छन्। फ्लाई दुबईले हाल १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई–पोखरा–दुबई उडान गर्दै आएको छ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सुरू गर्ने फ्लाई दुबई पहिलो वायुसेवा कम्पनी हो।
