बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि मलेसियाले दियो १० लाख डलर

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि मलेसिया सरकारले नेपाललाई १० लाख अमेरिकी डलर ९करिब १४ करोड रुपैयाँ० सहयोग गरेको छ ।
मलेसियाका परराष्ट्रमन्त्री उतामा हाजी मोहम्मद बिन हाजी हसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उपलब्ध गराएको उक्त रकमको चेक बुधबार नेपालका लागि मलेसियास्थित कार्यवाहक राजदूत मुदिता बज्राचार्यले ग्रहण गरेकी हुन् ।
गत २६ अगस्टमा भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले मलेसियाले आर्थिक सहायता उपलब्ध गराएको हो ।
मलेसियाका परराष्ट्रमन्त्री हसनले बाढीका कारण भएको मानवीय क्षति र भौतिक विनाशप्रति दुःख व्यक्त गर्दै पीडितप्रति समवेदना प्रकट गरेका छन् ।
कार्यवाहक राजदूत बज्राचार्यले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको र नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेकोमा मलेसिया सरकारलाई धन्यवाद दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *