दबाब र प्रभावमा नपर्न प्रहरी निरीक्षकलाई प्रधानमन्त्रीले दिए निर्देशन

प्रधानमन्त्री वालेन्द्र शाहले पास आउट भएका प्रहरी निरीक्षकहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिएका छन्।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम (१–१८४औँ समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन पनि प्रहरी अधिकृतहरूलाई आग्रह गरे ।
‘मलाई विश्वास छ, यहाँहरू कुनै पनि किसिमको दबाब र प्रभावमा पर्नुहुने छैन। आफ्नो संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न हुनुहुनेछैन,’ उनले भने।
प्रधानमन्त्रीले प्रहरी सेवामा नैतिकता, निष्ठा, इमानदारी, अनुशासन र जवाफदेहितालाई महत्त्वपूर्ण पक्षका रूपमा उल्लेख गरे। संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही पालना गर्दै जिम्मेवारी निर्वाह गर्न उनले प्रहरी निरीक्षकहरूलाई निर्देशन दिए।
उनले नेपाल प्रहरीको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गर्नु, अपराध अनुसन्धान गर्नु तथा संकटका बेला नागरिकको जिउधनको रक्षा गर्नु रहेको बताए।
कुनै पनि अनुचित प्रभावमा नपरी र भेदभाव नगरी कर्तव्य निर्वाह गर्न आग्रह गर्दै उनले प्रहरीको काम आम नागरिकले अनुभूति गर्ने खालको हुनुपर्नेमा जोड दिए।
‘कुनै पनि पेशागत सफलताको पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी हो,’ प्रधानमन्त्री शाहले भने।
१६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उनले तालिममा हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे।
प्रहरी निरीक्षकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न उनीहरू सक्षम हुने विश्वाससमेत व्यक्त गरे।
प्रधानमन्त्री शाहले बदलिँदो समयसँगै अपराधका स्वरूप र प्रवृत्तिसमेत परिवर्तन भइरहेको उल्लेख गर्दै निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही उपयोग गर्नुपर्ने बताए।
प्रहरी अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले प्रहरी संगठन, नेतृत्व र प्रशिक्षकहरूको पनि यसमा महत्त्वपूर्ण भूमिका रहने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *