विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको संयोजनमा असोज २५ र २६ गते प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष ओमकुमार श्रेष्ठले प्रतियोगिता व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए ।
विराटनगरस्थित कञ्चनजंघा ब्याङ्क्वेटमा हुने प्रतियोगितामा सातवटै प्रदेश र तीन विभागीय टोलीका खेलाडी सहभागी हुनेछन् । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रवीणकुमार कार्कीका अनुसार प्रतियोगितामा पुरुषतर्फ ९० र महिलातर्फ ८० गरी १७० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा एकल स्पाइरिङ, ग्रुप स्पाइरिङ, एकल प्याटन, ग्रुप प्याटन र सेल्फ डिफेन्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । एकल स्पाइरिङमा पुरुषतर्फ ४५–५० किलोदेखि ८६ किलोभन्दा माथि तथा महिलातर्फ ४०–४५ किलोदेखि ७६ किलोभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ । ग्रुप स्पाइरिङमा पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा हुने कार्कीले बताए ।
प्याटनतर्फ हरियो, नीलो, रातो, कालो प्रथम डान, दोस्रो डान र तेस्रो डानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ग्रुप प्याटन र सेल्फ डिफेन्समा पनि पुरुष तथा महिला खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नेपालको राष्ट्रिय टोलीमा छनोट गरी बन्द प्रशिक्षणमा राखिने आयोजकले जनाएको छ । छनोट भएका खेलाडीले आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंमा हुने आठौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।
प्रतियोगितामा महासंघका तीन प्रतिनिधि, ३५ अम्पायर, ३० प्रशिक्षक तथा व्यवस्थापक र पाँच स्थानीय अम्पायरसहित करिब २४३ जनाको प्रत्यक्ष सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन असोज २५ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम छ ।
