बाढीले क्षतिग्रस्त धादिङका ७ झोलुङ्गे पुलको पुनर्निर्माण गरिँदै

भोटेकोसी नदीमा आएको बाढीले धादिङका २५ वटा झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि सस्पेन्सन ब्रिज डिभिजनले पहिलो चरणमा सातवटा पुलको पुनर्निर्माण तथा मर्मत सुरू गरेको छ।
बाढीका कारण पुलमा क्षति पुगेपछि नदी तथा खोलापारिका बस्तीका नागरिकको आवतजावत प्रभावित बनेको थियो। विद्यालय जाने विद्यार्थी,स्वास्थ्य सेवा लिन जाने नागरिक तथा किसानले आफ्ना उत्पादन बजारसम्म पुर्‍याउनसमेत समस्या भोग्दै आएका छन्।
क्षतिग्रस्त पुलमध्ये तत्काल आवश्यक देखिएका पुललाई प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ। पहिलो चरणमा महेशदोभान मास्टर, चिरौंदी खोला, शीतलबजार९क्युरेनिटार, कालिकास्थान, मालिका (मधुवाटार दोभान, केउरेनी) गहते र फोसेटार झोलुङ्गे पुलको काम सुरू भएको हो।
गल्छी गाउँपालिका-१ र ६ मा पर्ने महेशदोभान मास्टर झोलुङ्गे पुल र चिरौंदी खोला झोलुङ्गे पुल, गल्छी-२ र ४ तथा शीतलबजार क्युरेनिटार झोलुङ्गे पुलका लागि सम्झौता भएको छ ।
पुल नहुँदा केउरेनी क्षेत्रका विद्यार्थी विद्यालय पुग्न नसकेको र नियमित कक्षा छुटिरहेको बताएका छन्। किसानले उत्पादन बजारसम्म पुर्‍याउन नसक्दा कृषि उपज खेर जाने अवस्था आएको स्थानीयको भनाइ छ। पुल पुनर्निर्माण सुरु भएपछि भने लामो समयदेखि आवतजावतमा समस्या झेल्दै आएका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
धादिङमा बाढीबाट क्षतिग्रस्त बाँकी झोलुङ्गे पुलको पनि आवश्यकता र प्राथमिकताका आधारमा मर्मत तथा पुनर्निर्माण अघि बढाइने तयारी छ।
निर्माण भइरहेका पुलको रेखदेख, संरक्षण तथा निगरानीमा सहयोग गर्न सस्पेन्सन ब्रिज डिभिजनले स्थानीय बासिन्दालाई आग्रह गरेको छ। निर्माणस्थलमा खटिएका प्राविधिक, निर्माण कम्पनीका कर्मचारी तथा श्रमिकलाई आवश्यक समन्वय र सहयोग गर्नसमेत डिभिजनले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *