स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै

स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्वबारे जानकारी फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ।
इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको पिंकवाक आगामी असोज १७ गते शनिबार अर्थात् अक्टोबर ३, २०२६ मा हुनेछ। पदयात्रा बिहान ६ बजे बसन्तपुरस्थित काठमाण्डु दरबार स्क्वायरबाट सुरु भई ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पुग्नेछ।
कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, क्यान्सर प्रभावित परिवार, विभिन्न संघसंस्था तथा साझेदार संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ।
स्तन क्यान्सर समयमै पहिचान गर्न सके उपचारलाई प्रभावकारी बनाउन सकिने भएकाले नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान र समयमै उपचारका विषयमा समुदायमा सचेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ।
कार्यक्रममार्फत क्यान्सर उपचार तथा पुनःस्थापनाको क्रममा रहेका व्यक्ति र उनीहरूका परिवारलाई सामाजिक तथा भावनात्मक सहयोग आवश्यक रहेको सन्देशसमेत प्रवाह गरिनेछ।
पिंकवाक २०२६ क्यान्सर केयर नेपाल, नेशनल अस्पताल तथा क्यान्सर सेन्टर, आईएसएस साउन्ड, नोभाला बायोटेक, पठाओ नेपाल, इसेवा, ह्याप्पी माइन्ड्सलगायतका संस्थासँगको साझेदारीमा आयोजना हुँदैछ।
कार्यक्रममा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी, काठमाडौँ महानगरपालिका तथा ललितपुर महानगरपालिकाको समेत सहयोग रहने आयोजकले जनाएको छ।
पिंकवाकको पहिलो संस्करण २०८० असोजमा सम्पन्न भएको थियो। उक्त संस्करणमा ६०० भन्दा बढी सहभागीले स्तन क्यान्सरसम्बन्धी जानकारीमूलक सामग्रीसहित नक्सालको नारायणचौरदेखि स्वयम्भूसम्म पदयात्रा गरेका थिए।
यसपटकको दोस्रो संस्करणले पनि स्तन क्यान्सरसम्बन्धी सचेतना, प्रारम्भिक पहिचान, सामुदायिक सहभागिता तथा क्यान्सर प्रभावित व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यलाई निरन्तरता दिने आयोजकको भनाइ छ।
क्यान्सर केयर नेपाल क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, रोकथाम, प्रारम्भिक पहिचान तथा क्यान्सर प्रभावित बिरामीलाई आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यले काम गर्दै आएको गैरनाफामूलक संस्था हो।
संस्थाले अस्पताल, स्वास्थ्यकर्मी, समुदाय तथा दातृ निकायसँग सहकार्य गर्दै व्यक्तिको बसोबास गर्ने स्थान वा आर्थिक अवस्थाका कारण क्यान्सरसम्बन्धी आवश्यक जानकारी, स्वास्थ्य परीक्षण तथा उपचारबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *