थाइल्यान्डमा आयोजित भव्य ‘ग्लोबल एसिया नेपाल एक्सेलेन्ट अवार्ड २०२६’ मा भागीरथा विष्ट (सुधा कुमार) प्रतिष्ठित ‘पावर अफ वुमेन अवार्ड २०२६’ बाट सम्मानित भएकी छन् ।
महिला सशक्तिकरण, सामाजिक योगदान, कुशल नेतृत्व क्षमता तथा समाजप्रतिको जिम्मेवारीपूर्ण भूमिकाको उच्च कदर गर्दै उनलाई यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो।
कसैसँग एक रुपियाँ पनि नलिई आफ्नै व्यक्तिगत प्रयासमा पीडित महिला तथा बालबालिकाको संरक्षण र सेवामा समर्पित ‘मातापिता स्नेहघर’की अध्यक्ष भागीरथाको अभूतपूर्व योगदानको उच्च कदर गर्दै थाइल्यान्डको बर्मेली नेपाली समाज (पिआनो)ले उनलाई विशेष सम्मान प्रदान गरेको हो।
झापाको माटोमा हुर्किएर काठमाडौँलाई कर्मभूमि बनाएकी भागीरथा स्पष्ट विचार, सिधा जवाफ र सत्यका पक्षमा दृढतापूर्वक उभिने निर्भीक व्यक्तित्वकी धनी हुन् । अरूको दुःखलाई आफ्नै सम्झेर असहायको जीवनमा आशाको किरण भर्ने उनको संवेदनशील मन नै उनको वास्तविक पहिचान बनेको छ।
प्रवासमा रहेका बर्मेली नेपालीहरूले पितृथलोमा निरन्तर समाजसेवामा तल्लीन सच्चा र निष्ठावान् व्यक्तित्वको खोजी गरी सम्मान गर्नु आफैँमा अनुकरणीय एवं सराहनीय कदम बनेको छ। आफ्नै सङ्घर्ष र प्रतिबद्धताबाट समाजमा परिवर्तनको दीप बालेकी एक निर्भीक नारी भागीरथालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गरी सम्मान गरिँदा नेपाल र नेपालीको स्वाभिमान थप उच्च बनेको हो।
