काठमाडौँका पूर्वमेयर तथा हालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा रहेको प्रशासनले नेपालको स्वतन्त्र पत्रकारिता र सञ्चारमाध्यममाथि कडाइ गरिरहेको भन्दै आलोचना सुरु भएको छ। ‘न्युजलोन्ड्री’मा प्रकाशित रिपोर्ट अनुसार, बालेन सरकारले परम्परागत मिडियालाई पन्छाउँदै आफ्ना नीति र निर्णयहरूको आलोचना गर्ने पत्रकार तथा युट्युबरहरूमाथि कानुनी कारबाही, धरपकड र सामाजिक सञ्जालमा सामूहिक रूपमा रिपोर्ट (mass-reporting) गराएर आवाज दबाउने रणनीति अपनाएको छ। स्वतन्त्र सञ्चारमाध्यम र नागरिक अधिकारकर्मीहरूले यस कदमलाई प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको सिधा प्रहारका रूपमा लिएका छन्।
मिडिया विश्लेषकहरूका अनुसार, बालेन शाहको टोलीले सामाजिक सञ्जाल, एआई दुरुपयोग र आफ्ना समर्थकहरूको सञ्जालमार्फत आफ्नै अनुकूलको न्यारेटिभ निर्माण गरिरहेको छ। सरकारका निर्णयहरूमाथि प्रश्न उठाउने मिडिया र पत्रकारहरूलाई लक्षित गरी भइरहेका यस्ता गतिविधिले नेपालको लोकतान्त्रिक अभ्यास र सञ्चार क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ। पत्रकार तथा अधिकारकर्मीहरूले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र सरकारलाई निरङ्कुशताको बाटोमा जानबाट रोक्न माग गरेका छन्।
