सेयर बजारमा गलत हल्ला फैलिरहँदा नेपाल स्टक ब्रोकर एशोसिएसनका पदाधिकारीहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा स्टक ब्रोकर एशोसिएसनका तर्फबाट पूर्वअध्यक्ष प्रियराज रेग्मी, महासचिव भक्तिराम घिमिरे लगायत उपस्थित थिए । त्यस क्रममा अर्थमन्त्री खनालले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन सुशासनका कामलाई प्राथमिकतामा राखिएको बताए । यसका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सुधार अघि बढाइरहेको र जनमत पनि यही दिशामा रहेको उनले उल्लेख गरे। ‘अपराध गरेकालाई उन्मुक्ति हुँदैन, तर छानीछानी प्रतिशोध पनि हुँदैन,’ अर्थमन्त्रीले भने ।
उनले सरकार निजी क्षेत्रमैत्री रहेको दोहोर्याउँदै आफ्नो पहिलो निर्णयले पनि त्यसको पुष्टि गर्ने बताए। ‘रास्वपा र सरकार निजी क्षेत्र विरोधी होइन। हामी अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित अघि बढिरहेका छौँ,’ उनले भने। आगामी बजेट २०४८ साल यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गर्दै उनले नेपालको अर्थतन्त्रका लागि अब ‘स्वर्णिम समय’ आउन लागेको बताउँदै बजारमा फैलाइने हल्ला र गलत अफवाहको पछि नलाग्न सबैलाई आग्रह गरे। शेयर बजारका विषयमा उनले आफ्नो पार्टी सबैभन्दा उदार नीति लिने र घोषणापत्रमै स्पष्ट धारणा राख्ने बताउँदै हाल फैलाइएका अफवाहप्रति सचेत रहन आग्रह गरे।
भेटमा सहभागी ब्रोकर प्रतिनिधिहरूले भने बजारमा गलत हल्ला फैलाइँदा साना लगानीकर्ता आत्तिएको बताएका छन्।
उनीहरूका अनुसार हाल शेयर बेचेर निस्किएका र पुनः बजारमा प्रवेश गर्न खोजिरहेका समूहले योजनाबद्ध रूपमा अफवाह फैलाइरहेका छन्। उनीहरूले संस्थागत लगानीकर्ताका लागि बजारलाई अझ सहज बनाउने उपाय आवश्यक रहेको औँल्याए। साथै, निजी क्षेत्रमाथिको अनुसन्धान जायज भए पनि त्यसलाई गोप्य राख्न नसकिएकोमा असन्तुष्टि व्यक्त गरे।
ब्रोकर प्रतिनिधिहरूले पुँजीबजार सुधार कार्यदलका सुझावहरू कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
