मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गरी सरकारले त्यहाँ रहेका नेपालीको उद्धार गर्न सुरु गरेको छ ।
नेपालीको उद्धार र सहज आवागमनका लागि सरकारले शुक्रबारदेखि मध्यपूर्वका देशहरुबाट विशेष उडान सञ्चालन गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्व क्षेत्रबाट स्वदेश फर्कन चाहने नेपाली नागरिकका लागि विशेष उडानबाट तीन दिनसम्म उद्धार गरिने बताए ।
काठमाडौँबाट शुक्रबार नेपाल वायु सेवा निगमको जहाज दुबई गएको छ । त्यो जहाज शनिबार दुबईबाट काठमाडौँ फर्कनेछ । त्यस्तै आइतबार पनि काठमार्डाँबाट अर्को जहाज साउदी अरबको दमाम गएर त्यही दिन फर्कनेछ ।
मन्त्रालयका प्रवक्ता क्षेत्रीले प्रि–बुक भएका तथा नेपाल फर्कन चाहने नागरिकलाई फिर्ता ल्याउने जानकारी दिए ।
मन्त्रालयकाअनुसार अमेरिका तथा इजरायल र इरानबीच चलिरहेको युद्धका कारण मध्यपूर्वमा विभिन्न कारणले ज्यान गुमाएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी ३८ वटा शव नेपाल ल्याउन बाँकी छ ।
मध्यपूर्व क्षेत्रमा आक्रमणबाट अहिलेसम्म १ जना नेपालीको ज्यान गएको तथा २१ जना घाइते भएका प्रवक्ता क्षेत्रीले जानकारी दिए । त्यस्तै ८६ हजार ४२० जना नेपाली नागरिकले अहिलेसम्म कन्सुलर सेवा विभागको उपलब्ध पोर्टलमा आफ्नो विवरण दर्ता गराएको विवरण छ ।
