‘अभिमन्यु‘को प्रचारमा बालेनको फोटो, निर्माता भन्छन्- राख्न मिल्दैन र ?


एजेन्सी: आउँदो फूलापातीबाट प्रदर्शनमा आउन लागेको ‘अभिमन्यु’को निर्माण टिमले चलचित्रको प्रचारप्रसार पोस्टरमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको तस्बिर राखे । अनि निर्माता कम्पनी सेभेन सिज सिनेमाजले पोस्टर सेयर गर्दै लेख्यो, ‘मेयर बालेन र हर्क मिल्दै गर्लान् दर्शक र हाम्रो फिल्म चाहीँ फुलपातीमा मिल्नुपर्छ है ।’

केही दिनअघि बालेन्द्रले धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई सम्बोधन गर्दै लेखेका थिए, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’

बालेन्द्रको यही शैली पछ्याएर ‘अभिमन्यु’ टिमले बालेन्द्रको फोटो समेत राख्दै पोस्टरमा लेखिएको छ, ‘डियर दर्शक, तपाईंहरुले जति गाली गरे पनि म तपाईंहरुलाई माया गर्न छाड्दिनँ । एकतर्फी नै सही तर मेरो माया अभिमन्युजस्तै हो । बाहिर निस्किनै सक्दैन ।’

यसरी सेलिब्रेटीको तस्बिर प्रचारप्रचारमा प्रयोग गर्दा व्यापारिक कम्पनीहरुले निश्चित रकम (सम्झौता अनुसार) भुक्तानी गर्छन् । कसैको पनि तस्बिरलाई बिनाअनुमति कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाइने कानुनी व्यवस्था नै छ । तर, ‘अभिमन्यु’ टिमले भने बालेन्द्रको लोकप्रियतालाई क्यास गर्न खोजेको देखिन्छ ।

यस विषयमा बुझ्न खोज्दा निर्माता विनोद पौडेलले आफूहरुलाई त्यसरी तस्बिर प्रयोग गर्न नपाइने भन्ने थाहा नै नभएको बताए । यदि अप्ठ्यारो नै पर्ने हो भने उक्त पोस्टर नै हटाइदिने बताए ।

आउँदो फुलपातिमा चारवटा नेपाली चलचित्र भिड्दैछन्, ‘माइतीघर’, ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘अभिमन्यु’ । प्रतिस्पर्धा तीव्र भएकाले चलचित्रकर्मीहरुले प्रचारप्रसारमा अनेक ट्रिक लगाइरहेका छन् । सायद त्यसैको निरन्तरता हो, ‘अभिमन्यु’को प्रचारप्रसार पोस्टरमा बालेन्द्रको फोटो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *