मोबाइल चोरीको आशङ्कामा युवतीलाई खम्बामा बाँधेर कुटपिट गरिएको घटना प्रकाशमा आएको छ। यो कुनै ग्रामीण क्षेत्रको घटना होइन तर सिलगढ़ीको शहरी क्षेत्रमा भएको घटना हो। धेरैजना मानिसहरू उभिएर घटना हेरिरहेका थिए तर कसैले पनि त्यस घटनाको विरोध गरेन। बरु धेरैले मोबाइलमा भिडियो खिचे। कानून हुँदाहुँदै पनि युवतीसित किन त्यस्तो व्यवहार गरियो भन्ने प्रश्नको उत्तर कसैसित छैन।
सिलगढ़ी जङ्कशन पार गरी पाती कोलोनीतर्फ जाने बाटोमा गेट बजार मोड़ छ। त्यहाँ सोमवार बेलुकी मानिसहरूको भीड़ लागेको थियो। लगभग 30 वर्षकी एउटी युवतीलाई खम्बामा बाँधिएको थियो। केही स्थानीय मानिसहरूले तिनलाई लगातार थप्पड़ हानेका आरोप छ। त्यसपछि अरूले पनि त्यहाँ युवतीलाई आएर कुटपिट गर्न थालेका स्थानीय सूत्रले बताएको छ। घटनाको जानकारी पाएपछि प्रधानगर पुलिस तुरुन्तै त्यहाँ पुग्यो र युवतीलाई उद्धार गरी थानामा ल्याइयो। कसैले पनि उजुरी नगरेको हुँदा युवतीलाई पुलिसले छोड़िदियो। प्रधानगर पुलिस प्रमुख वासुदेव सरकारले भने, घटनाबारे कसैले पनि उजुरी दर्ता गरेको छैन।
घटनाको सुरुवात एउटा मोबाइल पसलबाट भएको हो। पसलका मालिकअनुसार युवतीले मोबाइलतर्फ हात बढ़ाउँदै थिइन्। चोरीको आशङ्कामा तिनलाई समातिएको थियो। पसले र केही स्थानीयहरूले नै युवतीलाई खम्बामा बाँधेर कुटपिट गरेका आरोप छ। युवतीको भनाइ छ, तिनी मोबाइल रिचार्ज गर्न पसलमा गएकी थिइन्। तर तिनलाई चोर भन्दै कुटपिट गरियो र तिनको मोबाइल पनि तोड़िदियो। युवतीका बाबु-आमाले भने, यदि केही गल्ती गरेको भए हामीलाई जानकारी दिन सक्थे। त्यसरी कुटपिट गर्नु उचित थिएन। वार्ड नं. 1 का काउन्सिलर सञ्जय पाठकले भने, केवल आशङ्काको आधारमा यस्तो हिंसात्मक घटना स्वीकार्न सकिँदैन। यदि युवतीले चोरी गरेकी थिइन् भने तिनलाई पुलिसलाई बुझाउन सकिन्थ्यो। यसरी कुटपिट गर्नु ठिक होइन। स्थानीय मानिसहरूको भनाइअनुसार उक्त क्षेत्रमा मोबाइल चोरीका घटनाहरू पटक–पटक हुने गर्दछ। त्यसैले चोरलाई समात्न व्यवसायीहरू सतर्क छन्। यस घटनाले सिलगढ़ीका सचेत नागरिकलाई आश्चर्यमा पारेको छ। शिक्षिका एवं काउन्सिलर अभया बसुले भनिन्, केवल शङ्का गरेर त्यसरी कुटपिट गर्न मिल्दैन। यो गम्भीर विषय हो। हामी सबैले यस्ता विषयमा धैर्य राख्नु सिक्नुपर्छ।
